April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विधेयक शुरुमै प्रमाणीकरण भएको भए राष्ट्रपतिज्यूको हाइहाइ हुनेथियो : कुल आचार्य

2.5K

काठमाडौं । नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट दोस्रो पटक बहुमतले पारित भएपछि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का अध्यक्ष कुल आचार्यले स्वागत गरेका छन् ।

विहीबार साँझ सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै विधेयकले नागरिकताबाट वन्चित नेपाली युवायुवती तथा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने आशा लिएर बसेका लाखौं गैरआवासीय नेपाली नागरिकहरु लाभान्वित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

अध्यक्ष आचार्यले विधेयक कार्यान्वयन भएपछि सबै एनआरएनहरुलाई मातृभूमिसंग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र प्रवासी नेपालीसंग रहेको सीप, साधन र श्रोत नेपालमा लगानी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएपछि आचार्यको प्रतिक्रिया आएको हो ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनु भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक आज बृहत् छलफलपछि प्रतिनिधि सभाले पुनस् पारित गरेकोमा हामी खुसी छौं। अब राष्ट्रिय सभाले पनि उक्त विधेयक छिट्टै पारित गर्ने हामीले विश्वास लिएका छौं। यसबाट नागरिकताबाट वन्चित नेपाली युवायुवती तथा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने आशा लिएर बसेका लाखौं गैरआवासीय नेपाली नागरिकहरु लाभान्वित हुनेछन्। यो विधेयकलाई शुरुमै प्रमाणीकरण गरिदिनु भएको भए राष्ट्रपतिज्यूको हाइहाइ हुने थियो। अब सम्माननीय राष्ट्रपतिज्यूले संसदका दुवै सदनबाट फेरि पारित भएर गएको विधेयकलाई छिट्टै प्रमाणीकरण गरि दिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं। म संसारभरि रहनु भएका साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्दछु। साथै यो विधेयक पारित गर्न निरन्तर लागि रहनु भएका सम्माननीय प्रधान मंत्रीज्यू, गृह मंत्रीज्यू, कानून मन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय सदस्यज्यूहरु लगायत सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। यो विधेयक कार्यान्वयन भए पछि यसले सबै एनआरएनहरुलाई मातृभूमिसंग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र प्रवासी नेपालीसंग रहेको सीप, साधन र श्रोत नेपालमा लगानी गर्न सहज हुने हाम्रो विश्वास छ।
कुल आचार्य
अध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद