April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी

2.6K

बुटवल । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको हिजो बुटवलमा उद्घाटन पछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यसलाई सुधार्नुपर्ने बताउँदै उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठुलो भएँ भन्ने नसोच्नुस् । कुचीकारहरू काम नगरे के होला ? उनीहरु बिना के अस्पताल सफा हुन सक्ला ? तपाईँहरूले अल्ली पढ्नुभएको होला । तलब पनि बढी होला तर तँपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरूलाई अपमान नगर्नुस् । उनीहरूले हेपिएको महसुस नगरून् ।’

डाक्टर नर्सहरूले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेको भन्दै प्रशंसा गर्दै मन्त्री चौधरीले बिरामीले दुःख नपाउन् , उनीहरूको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिए ।

Advertisement

नव निर्मित भवनको सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।