धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेतपत्र जारी गरेका छन् ।
रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जानकारी दिएका छन् ।प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको श्वेत पत्रमा उल्लेख छ । यसैकारणले प्रतिष्ठानका बिशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सृर्जना भएको पनि रजिष्ट्रार संगौलाले उल्लेख गरेका छन् ।
प्रतिष्ठानको पछिल्लो ४ आर्थिक बर्षको आयव्यय पनि सार्वजनिक गरेका रजिष्ट्रार संगौलाले आर्थिकरुपमा विकराल अवस्थामा पनि संस्था कसरी बाँचेको छ भनेर सम्बन्धित निकाय र सर्वसाधारणलाई जानकारी दिन श्वेतपत्र जारी गरेको जनाएका छन् । प्रतिष्ठानका अनुसार विगत २ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्बभन्दा धेरैले घटेको छ ।
आर्थिक बर्ष २०७५–७६ मा ५८ करोड ६६ लाख रुपैयाँ बचत भएकोमा आर्थिक वर्ष २०७६–७७ मा कोभिड महामारी शुरु भएपछि प्रतिष्ठानको आम्दानीलाई पनि असर गर्न थालेको थियो । उक्त आर्थिक बर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक भएको थियो । अन्तरिक आय र नेपाल सरकारबाटसमेत गरि २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो ।
यसैगरि, आर्थिक बर्ष २०७७–७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको थियो । कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो । सो वर्षको सञ्चालन खर्च भने २ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ पुगेको थियो ।
यस्तै, आर्थिक बर्ष २०७८–७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको छ । यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । प्रतिष्ठान स्वायत्त निकाय भएकोले तलब र भत्तासहित सञ्चालन खर्च आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।