लन्डन । गैर–आवासीय नेपाली संघ बेलायतल युके, राज्य समन्वय परिषद इङ्ल्याण्डको आयोजनामा हुने ‘रनफेस्ट’ कार्यक्रमले इङ्ल्याण्डभरका विभिन्न सहरहरुमा पुगी त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुलाई दौड अभियानमा बृहत् सहभागी गराउँदै आएको छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने नाराका साथ आयोजना हुने यस स्वास्थ्य जागरण अभियानमा महिला, पुरुष बालबच्चा र उमेर बढ्दै गएका सबै नेपालीहरुको उत्साहपूर्ण सहभागिता रहन्छ । यस सकरात्मक सन्देश फैलाउने कार्यमा एनआरएनए युके, इङ्ल्याण्ड राज्य परिषदको भूमिका महत्वपूर्ण रहेको छ । यसरी दौडने बानी बसाल्न सकेमा शरीर स्वस्थ र फुर्तिलो हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने र मोटोपनाका समस्याहरु कम हुँदै जाने भएकोले सबैलाई यो अभियानमा जुट्न अभिप्रेरित गरिएको अयोजक बताउछन् ।
राज्य समन्वय परिषद इङ्ल्याण्डले यस कार्यक्रमको सम्पूर्ण पूर्वाधार सन् २०२१ मा तयार गरी जनवरी २०२२ देखि अभियानको रुपमा सन्चालनमा ल्याएको थियो । कोभिडको महामारीको समयमा बन्द अवस्थामा बस्नु परेको पीडाबाट मुक्ती दिने उद्देश्यले संस्थाले भर्चुवल दौड कार्यक्रम रन फेष्टो आयोजन ग¥यो । जसमा सहभागीहरुले आ–आफ्नो ठाउँबाट घर, पार्क, गार्डेन, जिम, ट्रेड मिल वा रोडमा जहाँ दौडे पनि ५ किलोमिटर दौड पुरा गर्ने र आफ्नो विस्तृत जानकारी सहित एनआरएनए इङ्ल्याण्ड राज्य समन्वय परिषदको वेबसाईटमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो । सहभागीहरुलाई सम्मान स्वरुप संस्थाको लोगोसहितको मेडल र प्रशंसा पत्र दिएर सम्मान गर्ने प्रक्रियाबाट यो काम सुरु गरिएको हो ।
यस कार्यक्रमलाई २०२२ जुलाई १४ बिहीबारका दिन मिडल्याण्को नटिङ्घम शहरस्थित फोरेष्ट पार्कको खुल्ला चौरमा बिहान १० बजे देखि १२ बजेसम्म भव्य रुपमा प्रत्यक्ष दौडको आयोजना गरी समापन गरिएको छ । उक्त कार्यक्रममा ७१ जना धावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फोरेष्टपार्कको सबै क्षत्रफल समेटेर वरिपरी फन्को मारेर एक समारोहबीच सम्पन्न गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा एनआरएनए आइसीसी युरोप क्षेत्रीय उपसंयोजक दयानिधी सापकोटा प्रमुख अतिथि रहेका थिए । त्यस्तै सृजनशिल लेष्टर समाजका वर्तमान अध्यक्ष नारायण फुयाल र वर्तमान साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आले मगर अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा एनआरए युकेका उपाध्यक्ष गोविन्द खरेल, सचिव विष्णु चालिसे, नेपाली समाज नटिङ्घमका अध्यक्ष रविन्द्र शर्मा र सम्पूर्ण कार्यसमिति, नटिङ्घमको भलिवल समूहका कप्तान रविन्द्र गिरी र उनका समूह, नटिङ्घम नेपाली समाज युकेका संस्थापक अध्यक्ष रणबहादुर केसी, पूर्व अध्यक्ष प्रविण पाण्डे, निवर्तमान अध्यक्ष हिरा सापकोटा, नटिङ्घम स्वास्थ्य जागरण अभियान दौड अभ्यासका समूहका नेता लाल थापा, एनआरएन यूकेका पूर्व सदस्य कृशण खरेल, राज्य समन्वय परिषद इङ्ल्याण्डका सल्लहकार शम्भु अर्याल, सल्लाहकार यज्ञ डुम्रे र मकुन्द खरेल, तथा नटिङ्घमवासी जागरुकहरुको बाक्लो सहभागिता रहेको थियो । यस्तै, नेपालबाट युके आएका हिरा सापकोटाका पिता, लोक गायक तथा कलाकारहरु विशाल रायमाझी, अस्मिता डल्लाकोटी र राजन कार्कीको पनि सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि दयानिधि सापकोटाले यस्ता कार्यक्रमहरुले आम नेपालीहरुमा सकारात्मक अनुभूति जाने र सामाजिक एकतामा समेत बल पुग्ने बताए । यस्तै, एनआरएन राज्य समन्वय परिषदले यसरी आकर्षक कार्यक्रम गरेकोमा परिषदलाई सबै किसिमको सहयोग दिने आश्वासन दिदै विश्वका अन्य मुलुकमा पनि यस्ता अभियान फैलाउदै जानुपर्ने कुरामा जोड दिए ।
बोल्ने क्रममा एनआरएनए युकेका उपाध्यक्ष गोविन्द खरेल, सचिव विष्णु चालिसे अतिथि नारायण फुयाल, नेपाली समाज नटिङ्घमका संस्थापक अध्यक्ष रणबहादुर केसी लगायतले यस कायक्रमको प्रशंसा र प्रोत्साहन गरेका थिए ।
एनआरएनए यूकेको विधानले तोकेको प्रावधान अनुरुप एनआरएनए युके राज्य समन्वय परिषद इङ्ल्याण्डले विभिन्न शहरहरुमा काउण्टी काउन्सिल गठन गरी एनआरएनहरुका समस्या र जिज्ञासाहरुलाई सम्बन्धित निकायसम्म पुर्याउदै आएको छ । यसैक्रममा मिडल्याण्मा पनि एनआरएन अभियन्ता अग्रजहरुको सहभागितामा मिडल्याण्ड काउण्टी काउन्सिलको गठन गरियो । जसको संयोजकमा डिलाराम गौतम र सचिवमा लोकनाथ अधिकारी चयन भएका छन् । अन्य क्षेत्रहरुलाई पनि समेटेर सदस्यहरुको नियुक्ती गरी समितिलाई पूर्णता दिने गरी उनीहरुलाई प्रमाणपत्रसहित एक कार्य निर्देशिकासमेत हस्तान्तरण गरिएको थियो ।
आयोजक एनआरएनए युके राज्य समन्वय परिषद इङ्ल्याण्डका अध्यक्ष लाल बहादुर गरुङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रम संचालन राज्य परिषद इङ्ल्याण्डका सचिव रामप्रसाद पन्थीले गरेका थिए ।
दौड सकिएपछि सबैलाई एक ठाउँमा गोलबद्ध गरी लाल थापाले दौड, पिटी र योगा अभ्यास गराउनुका साथै यसबाट स्वास्थ्यमा हुने फाइदा बारे बताएका थिए । कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा इङ्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लाल बहादुर गुरुङले कार्यक्रममा उपस्थित सबैलाई सहभागिताका लागि धन्यवाद दिएका थिए । एनआरएन ग्लोबल संस्था भएकोले यस संस्था आबद्ध हुन र परिवर्तनका सम्वाहक बन्न यसरी नै जुटिरहन आग्रह गर्दै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।