लण्डन — एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।
मिम्स डाभिजले पदबाट राजीनामा दिएसँगै यो संख्या २७ पुगेको बीबीसीले जनाएको छ । मन्त्री तथा सहयोगीहरूले राजीनामा दिएपछि विपक्षी दल लेबर पार्टीका नेता किर स्टार्मरले ‘सबै दुर्गन्ध, पूरै असफल भएपछि कन्जर्भेटिभ सरकार ढल्दै गरेको’ बताए ।
विपक्षी नेता स्टार्मरले प्रधानमन्त्री जोन्सनको साथ छाड्नेहरुलाई कटाक्ष गर्न छाडेनन् । स्टार्मरले ‘जहाज डुब्ने देखेपछि मुसाहरूले छाडेको’ भनेका छन् । प्रधानमन्त्री जोन्सन भने अझै दलभित्रको बहुमत सांसदहरूको समर्थन आफूलाई अझै रहेको भन्दै पद नछाड्ने बताएका छन् । उनको दलका नेताहरुले भने जोन्सनको सरकार केही दिनभित्रै ढल्ने बताएका छन् ।
प्रधानमन्त्री जोन्सनले हालै बीबीसीको एक अन्तरवार्तामा क्रिस पिन्चरमाथि लागेका यौन दुर्व्यवहार सम्बन्धी आरोपबारे जानकार हुँदाहुँदै पनि आफूले उनलाई सहायक प्रमुख सचेतक नियुक्त गर्नु गम्भीर गल्ती भएको स्वीकारेपछि बेलायती राजनीतिले नयाँ मोड लिएको हो ।
सत्तारूढ कन्जरभेटिभ पार्टीभित्रै प्रधानमन्त्री जोन्सनको विकल्प खोज्न गत महिना अविश्वासको प्रस्ताव विफल भएको थियो ।
पार्टीको विधानअनुसार आगामी वर्ष जुन महिनासम्म जोनसनको नेतृत्वविरुद्ध चुनौती दिन नपाइने भएकाले अर्को आवधिक निर्वाचन सन् २०२४ मा हुने अपेक्षा गरिएको छ ।
यद्यपि विद्रोही टोरी नेताहरूले पार्टीको विधान परिवर्तन गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । आधुनिक समयमा आफ्नो पार्टीको अविश्वास प्रस्ताव सामना गर्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर, जोन मेजर, टेरेजा मे सबैको राजीतिक आयु कम भएको इतिहास छ ।
प्रधानमन्त्री जोनसन पदबाट राजीनामा नदिनेमा दृढ देखिएका छन् तर प्रमुख प्रतिपक्षी लेबर पार्टीले ताजा चुनाव माग गरेको छ । यसैबीच बेलायतमा सन् २००८ देखि लगातार भइरहेको राजनीतिक तथा आर्थिक अस्थिरताको शृंखलाको अन्त्य चाँडै हुने सम्भावना न्यून रहेको बताइन्छ ।
कोभिड महामारीमा लकडाउनका बेला आफ्नो कार्यालयमा पार्टी गरी धेरै पटक नियम तोडेको र पुलिसले जरिवानासमेत गरेको जस्ता कयौं मुद्दामा झुटो बोलेको भन्दै बोरिसको आलोचना भइरहेको छ ।
बेलायतमा मुद्रास्फीतिले पारिरहेको आर्थिक असरले जनजीवन प्रभावित हुने क्रम जारी छ । यस्तो जल्दोबल्दो समस्या सामना गर्नुको सट्टा आफ्नै सत्तारूढ कन्जरभेटिभ पार्टीभित्रैको बढ्दो किचलोले गर्दा प्रधानमन्त्री जोनसनको राजनीतिक भविश्य अन्ततिर आइपुगेको कतिपय राजनीतिक विश्लेशकहरूले टिप्पणी गरेका छन् ।
बेलायतमा मुद्रास्फीति ३० वर्षयताकै उच्च रहेको बैंक अफ इंग्ल्याण्डको तथ्यांकले देखाएको छ । २ प्रतिशत हुने लक्ष्य राखिएको मुद्रास्फीति अहिले करिब १० प्रतिशत पुगेको छ र यस वर्षको अन्त्यसम्म ११ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।