काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्यको क्षेत्रमा अहिलेको सरकार धेरै संवेदनशील भएको बताएका छन् । सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् ।
सरकारको योजनामा प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढरिहेको उनले बताए । मन्त्री खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने पनि आश्वासन दिए ।
मन्त्री खापुङले भने, ‘स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ । सरकारको महत्त्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ । अहिले हामी संघीयताको अभ्यासमा छौं । प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढिरहेको छ । स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ । यसैगरी एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ ।’
उनले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको भन्दै वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।