April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

समर्थन कति आवश्यक ?

10K

-जुनु दिव्या राना

कबड्डी नायिका मिरुना मगर र सोही चलचित्र हेर्न आएका एक भिक्षु दर्शकबीचको घटना धेरैको चासोको बिषय बन्यो । भिक्षुको भेषमा चलचित्र हेर्न आएका ती दर्शकले आफूलाई पिठ्युँमा दोहो¥याए छोएको भन्दै लामालाई मिरुनाले चलचित्र प्रदर्शन भएको हलभित्रै झापड हानिन् र प्रहरीको जिम्मा लगाइन् । यस घटनाको पक्ष र विपक्षमा तर्क वितर्कहरु भए । धेरैले आ–आफ्ना धारणाहरु राखे ।

भोलिपल्ट नायिका र लामाबीच मिलापत्र भएको समाचार सार्बजनिक भयो तर घटना साम्य भएन । भिक्षुले आफ्नो गल्ति स्विकार गरी क्षमा मागेका थिए भने नायिकाले भाइ सम्झेर क्षमा दिएकी थिईन् । तर, मिलापत्र भैसकेपछी ति लामाको समर्थन र नायिकाको बिरोधमा चलचित्रको प्रदर्शन रोक्ने, हलमा पसेर पोस्टर च्यात्नेदेखि नायिकाको पुत्लामाथी रिस पोख्ने समुह देखा पर्यो । बुद्धधर्मावलम्बी भिक्षुको समर्थनमा नायिकाको पुत्ला बनाएर पुत्लामाथी आक्रोश पोख्नेहरु देख्दा लाग्थ्यो कि– आफुमाथी दुव्र्यवहार गर्नेलाई तत्काल प्रतिकार गरी प्रहरीलाई जिम्मा लगाएर नायिकाले संसार कै क्षम्य नहुने गल्ती गरिन् । ती भिक्षुको समर्थनमा केहि पुरुषले नायिकाको पुत्लालाई सकेको आक्रोश पोखेको देखिन्थ्यो । कतिले पुत्लाको छातीमा समाएको देखिन्थ्यो । सबैभन्दा अनौठो त महिलाहरू नै पुत्लाको छातीमा ताकेर हानिरहेको भिडियो फुटेजहरु बाहिरिएका थिए ।

Advertisement

‘भिडमा छोएकोमा किन यति ठूलो इस्यु बनाएको ? हु इज सी ? अफिसमा छोएको ब्याड टच हुन सक्छ । बाटो हिँड्दा छोएको ब्याड टच हुन सक्छ । तर, भिडमा छोएको मात्रै किन यति ठुलो इस्यु बनाउनु ? यदि कसैले छोएको मन पर्दैन भने घरमै बस्नु । किन बाहिर निस्कनु ? किन भिडमा जानु ? अनि भिडबाट कसैले चिमोटेमा छोएमा ए हजुर, किन छोएको ? भनेर सोध्नुपर्ने’ भन्दै अंग्रेजी बोल्ने ति महिलाले नायिकाको नै गल्ति भएको ठोकुवा गरिन् ।

यहाँनेर यी पुर्वघटना जोडिन किन पनि आवश्यक लाग्छ भने कुनैपनि हिंसा शोषणको घटना बाहिर आउँदा पीडितको पक्षमा भन्दा पीडकको पक्षमा उभिएको भिड र गालिगलौजमा उत्रिनु पनि फरक दृश्य मान्न सकिन्छ । चाहे नाबालिका गायिकाको केसमा होस् या मिरुनाले झापड हानेको केसमा होस् भिडको निशानामा पीडितलाई नै अझ पिडा थप्ने नै भन्ने आसय प्रष्ट देख्न सकिन्छ । बलात्कार जस्तो अपराधमा कानूनले सजाय तोकेको अपराधीको समर्थन गर्ने अभियन्ताका अनुसार त दुव्र्यवहार र हिंसा भनेको कसैले जबर्जस्ती गर्नु वा कसैको हत्या हुनु र र बलात्कार भनेको संवेदनशील अंगहरु छियाछिया हुनेगरि क्षतबिक्षत भएको हुनुपर्छ । कुनैपनि पिडितले कम्तिमा बर्षौंसम्म पिडा लुकाएको हुनुपर्छ ।

हिंसा भनेको के हो ? हिंसाको प्रकार के-के हुन ? भन्ने प्राम्भरिक चेत नभईकन कुनै पनि व्यक्तिले अधिकारकर्मी भनेर चिनाउन मिल्छ र ? हरेक हिंसामा आफ्नो स्वार्थ र र नाफा भएमात्रै सडकमा उत्रने काम हुनु आफ्नै खुट्टामा बन्चरो हान्नु बुद्दिमताको लक्षण हुन सक्दैन । कारण छिमेकीको बाख्रा खायो भन्दै तमासा हेर्दैगर्दा त्यहि बाघ आफ्नो गोठसम्म आईपुग्न समय लाग्दैन । तब दोस्रो व्यक्तिमाथी हिंसा हुँदा आँखा चिम्म गरेर दिमाग र चेतनामा बिर्को लगाएर पिडकको समर्थन गरिनु भनेको अंजिगरलाई पाल्नु समान नै हो , जसले कुनैपनि बेला डस्न सक्छ ।

यदि कुनै भिडमा कसैले संवेदनशील अंगमा छोयो र त्यो छुवाईले असहज लागेन वा लाग्यो त्यो अलग पक्ष हो । भिडको फाइदा उठाउदै कसैलाई गलत नलागेता पनि छुन पाउनुपर्छ भन्ने मानसिकता अझ गलत हो भन्ने सामान्य ज्ञानसम्म नभएका केहि महिलाकर्मी जो हिंसामा परेका महिलाको आँशु चोट र मानसिक यातनालाई बजारमा बेचेर आफ्नो आयव्यय चलाईरहेका छन् कि भन्ने संका उत्पन्न हुनु स्वभाविक हो ।

नाबालिका भनिएकी गायिका अधिकारी र नायक पल शाहको मुद्दामा गायिका नाबालिकासँगको शारीरिक सम्बन्ध कानूनत रुपले अपराध भएकोले नै जिल्ला अदालतले नायक शाहलाई थुनामै राख्ने आदेश दियो । न्यायलयले निर्धारण गर्ने कानूनको सम्मान गर्नुपर्नेमा उल्टो केहि अभियन्ता र कथित बुद्धिजीवीहरुले नायक निर्दोश रहेको र हिरासत मुक्त हुनुपर्ने माग राख्दै राजधानीमा धर्ना दिनसमेत पछि परेनन् ।

आखिर कानूनले अपराधी प्रमाणित गरिसकेको कुनै पनि अपराधी यो भिडको नजरमा किन अपराधी बन्दैन ? केले रोक्छ इमानदार हुन ? वर्तमान स्थितिसम्म आईपुग्दा लाखौं महिलाहरू शोषणको अग्निमा जलिरहे । कति धर्मको नाममा सतीप्रथा र कुसंस्कारको नाममा कति जातको र दाईजोको नाममा जिउँदै जल्न बाध्य महिलाहरुको चिहानको संख्या अझै कतिसम्म थप्ने हो ? र महिला हिंसाजन्य विषयमा आजको एकाइसौं शताब्दीमा पनि फलाना जात फलाना वर्ग र फलाना धर्म भन्ने ? हो प्रमाणित नहुँदै आक्षेप लगाउनु उचित होइन । तर कानूनमा हिंसा प्रमाणित भैसकेको पीडकप्रति नरम बन्दै पीडित पात्रको विरुद्धमा पक्षपाती हुनु वा पुर्वाग्रही बन्नु न्यायोचित हुन सक्दैनँ ।

“मन मिल्दासम्म चमत्कार मन मिल्न छोडेपछि बलात्कार” भन्ने शब्द यतिखेर निकै प्रयोग भैरहेको छ । बिडम्वना यो छ कि महिलाको हकहितको निम्ति र महिला पुरुष दुवैको राज्यमा समान समावेशीताको होस् भनेर चुनिएका महिला जनप्रतिनिधिले नै पुरुष नै महिलाद्वारा पीडित भैरहेको र संसदमै महिलाबाट पुरुष हिंसामा परेको टिप्पणी दिदा गंगा चौधरीको समर्थनमा भिड नै उत्रिएको सजिलोसँग देख्न सकिन्छ ।

आखिर भिडले चाहेको महिला हिंसा निरन्तर चलिरहनुपर्छ भन्ने नै हो त ? जो कोहि पीडितले आफूमाथि घटेको दुव्र्यवहार हुँदा गरिएको प्रश्न भन्दा तत्काल प्रतिकार गरिएको घटनाले निम्त्याएको दृश्यमा हिंस्रक गतिविधिको समर्थन र पीडितमाथि मानवताको अन्तिम सिमासम्म पुगेर जिउँदै व्यक्तिलाई रिप लेख्ने पढ्न नसकिने अश्लिल गालिगलौज भएको साक्षी त सामाजिक सन्जाल भन्दा अरु के हुन सक्छ र ? पीडकको समर्थन र पीडितको आलोचनाको पाटोले धेरैवटा अप्ठ्यारा पाटोहरु उजगर भएका छन् । भन्न र लेख्न पनि असहज लाग्ने ति पाटोहरु लेख्दा सहज लाग्ने त कुरै भएन । पछिल्ला घटनाका पीडितको समर्थन गर्न चाहे निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विरुद्धमा होस् या चाहे नाबालिका पक्षमा वा भनौं सुस्मिताको समर्थनको पक्षमा एकै आवाजमा गुन्जिएको आवाज मिरुना र भिक्षुसम्म आईपुग्दा निकै फरक देखिएको छ ।

भिडमा जे पनि हुन सक्छ । भिडमा संवेदनशील अंगमा छुईन सक्छ वा लामा भिक्षुको ब्याड टचलाई गलत तरिकाले छोएकोमा ठूलो विषयमा बनाउँन हुन्थेन भन्ने तर्क नै विवादको जड हो । थप कुनै पनि घटनामा व्यक्तिको गल्तिलाई समुदाय र धर्ममा जोडेर अतिरंन्जित बनाउने समूहको सक्रियता महिलाको हकहितको पक्षमा लेख्नेहरुको मौनता आफैमा पक्षपातको कुरुप पाटो बनेर देखिएको अनुमान लगाउन सकिन्छ ।

चाहे सामान्य युवती होस् वा नायिका होस् गलत नियतले कसैलाई छुन मिल्छ भन्ने कुनै कानुनमा उल्लेख गरिएको पाइदैन । एकपल्ट छोएमा झुक्किएर छोएकोमा सामान्य मान्न सकिएला । तर अर्कोपटक छोए र फेरि तेहि प्रकारको छुवाई दोहोरिएमा मिरुनाको ठाउँमा सामन्य युवती जो कसैले तत्काल प्रतिकार गर्नुको विकल्प हुँदैन । र आफूले महशुस गरेको हिंसा चुपचाप आफैभित्र दबाएर आफूलाई नै प्रताडित गरेर जीवन नै संकटमा पुर्‍याउनु झनै उचित होईन । यहाँ नायिकाले आफूमाथि एकपल्ट होइन दुईपल्ट होइन तिन–तिन पटक गलत तरिकाले छोइएको भएरै तत्काल प्रतिकार गरें भनेकी छन् । जे गरिन् त्यो अवस्थामा जो सुकैले पनि गर्ने तेहि नै हो ।

मिरुना मगरले मलाई गलत तरिकाले छोईयो भन्न र त्यसको प्रतिकार गर्न पाउँछिन् होइन र ? देशमा हिंसालाई कसुर ठहर बनाइएको कानूनहरु छन् । भिडको आलोचना नै अन्तिम निष्कर्ष होइन । भिडभन्दा माथि कानून छ । महिलाको हक अधिकारको मुद्दामा लड्ने लेख्ने निष्पक्ष लेखकहरु कम छन् तर एकै प्रकारको हिंसामा पनि महिला हिंसाको विरुद्धमा ठुलाठुला लेख लेख्ने र चलेकाहरुको वालमा गएर कमेन्ट गर्दा आफूलाई उच्च वौद्दिक मान्ने महिलाहरु मिरुना र लामाको विवादमा बोल्न जरुरी नठानेको देख्दा भने कताकता लज्जावोध हुन्छ ।

यो समर्थनमा पुर्वाग्रही हुने प्रवृत्तिले त ति बौद्धिकको प्रेस्टिज मै प्रश्नचिन्ह खडा गर्ने देखिन्छ । कि यस्तो अन्दाज लगाऔ कि मिरुनाको ठाउँमा अन्य युवती र भिक्षुको ठाउँमा अन्य व्यक्ति हुन्थ्यो भने तपाइँहरुको एक्सन र रिआक्सन अर्कै हुन्थ्यो । सायद लामाको ठाउँमा कुनै गैर–लामा हुन्थ्यो भने पनि लेख्न बोल्न आँट आउथ्यो । ठुलाठुला टिभिमा अन्तर्वार्ता दिन समय मिलाउन पर्थ्यो होला । किनभने त्यहाँ तपाईले आफूलाई बौद्धिक र सशक्त महिला भनेर सावित गर्ने मौका मिल्थ्यो र फेरि वाहवाही गर्ने सुनौलो वातावरण बन्न सक्थ्यो ।

हो यो केसमा त मिरुना चलचित्र कि नायिका मात्रै नभएर वास्तविक जीवनकी नायिका बनेकी छिन् । आफूमाथि भएको हिंसाको तत्काल प्रतिकार गर्न अन्यलाई आरोप लगाएकी छैनन् । अन्य दोषीको कारण मेरो जिन्दगी बर्बाद भो भनेर रोईकराई गर्नुपर्ने अवस्था आउन नै दिएकी छैनन् । र, कसैले मानेपनी नमानेपनि यो पक्ष वास्तविक जीवनको नायिका बनेको आफै बलियो प्रमाण हो । मिरुना निर्मला वा सुस्मिता बन्नबाट आफैले आफूलाई जोगाएर लाखौं छोरीहरुको निम्ति आशाको उज्यालो पात्र बनेकी छिन् । र, आफ्ना नजिकका पुरुष पात्र शिक्षक, काका वा कुनै अन्जान व्यक्तिबाट भएको हिंसाको विरुद्धमा आवाज उठाउन आँट गर्नेछन् भन्ने सन्देश दिएकी छिन् । र, यहि आँटलाई हामीले समर्थन गर्न कन्जुस्याइँ किन गर्‍यौं भन्ने प्रश्न उब्जिएको छ ।

मिरुना र लामा विवाद मिलापत्र भएपछि त्यो विषय अझ उल्झिदै जानुको मुख्य कारण चलचित्रकी नायिका महिला पात्र हुनु नै हो भनेर ठोकुवा गर्न सकिन्छ । किनभने नेपालमा कुनै पनि महिलाप्रति खनिन धेरै सजिलो छ । महिलालाई जसले जस्तोसुकै व्यवहार गरेपनि हुन्छ भन्ने मानसिकताको जरा यसरी गडेको छ कि यो जरा सजिलोसँग उखेलेर फ्याँक्न सम्भव नै छैन ।

अर्को पाटो चलचित्रकी नायिकाको स्थानमा अन्य कुनै युवती वा महिलाहरु भएको भए विवादले यति उग्ररुप सायदै लिने थियो । एक त आफ्नै चलचित्र हेर्न आएका दर्शकले दुव्र्यवहार गर्नु र नायिकाले तत्काल प्रतिकार गर्दै भिडमा लामालाई झापड हान्नु र माफी मगाउनु जस्ता कारणहरु देखाउँदै आक्रोशित भिडले नायिकाको विरोधमा गालिगलौजमा उत्रन गतिलो बहाना पनि मिल्यो ।

यसरी कहिलेसम्म पीडितलाई नै किन निशाना बनाइरहने हो ? किन के कारण पीडकको पक्षमा भिडको संख्या दिनहुुँ किन बढिरहेको छ ? यहाँ पीडितले अझ पीडा भोग्न बाध्य हुने नजिर बसालेर के प्रमाणित गर्न चाहेका छन् मान्छेहरु ?

अर्को पाटो हरेक महिला हिंसाको घटनालाई पितृसत्तासँग जोडेर लेख्ने लेखिकाहरुको मौनताको रहस्य के हो ? अझ थप चलचित्रकर्मीहरु चलचित्रका सम्बन्धित संस्थाहरु मौन छन् । आफूलाई महानायिका दाबी गर्ने पुरानी नायिका करिश्मा मानन्धर लगायतका सिनियर कलकारहरु मुकदर्शक अवस्था मै छन् । यो चलचित्रकर्मी मौन बस्नुको कारण तिनलाई यो चलचित्र प्रदर्शन अगावै दर्शकहरुले देखाएको उत्सकता र चासो र चलचित्र प्रदर्शनमा आएपछि दर्शकको क्रेज देख्दा आरिस लागेको हो ? नाबालिकालाई यौन शोषणको आरोप लागेको व्यक्तिको पक्षमा रोईकराई गर्ने नायिका कसरी समाजलाई सहि दिशानिर्देश गर्लान् ?

मिरुनाले तत्काल प्रतिकार गर्नु र त्यो बिघ्न तमासा हुँदापनि चुईक्क आवाज ननिकाल्नुले यी नेपाली चलचित्रकर्मीको नैतिकतामा संका पुनः उत्पन्न हुन्छ । यो एउटा आकस्मिक घटेको घटना थियो । नायिकाले वा चलचित्रका टिमले कुनै व्यापारिक प्रयोजनको लागि रचिएको नाटक त पक्कै थिएन । दुःखद पाटो के भने यो आकस्मिक घटेको घटनामा मट्टितेल थप्दै दुव्र्यवहारको आरोप लागेर मिलापत्र भैसकेपछि लामाको समर्थनमा सम्पूर्ण तामाङ र गैर तामाङहरु लागे । त्यसरी दुव्र्यवहारको प्रतिकार गरेकी नायिकाको समर्थमा चलचित्रको निमार्ण पक्ष पनि मौन रहेको पाईयो । चलचित्रको व्यापारको अगाडी सोही चलचित्रकी नायिकामाथी भएको दुव्र्यवहार अनदेखा गरिएको जो कसैले अन्दाजा लगाउन सक्छ ।

संयोग कस्तो पर्‍यो भने मिरुना मगरलाई जताततैबाट प्रहार हुँदै गर्दा नेपाल मगर महिला संघको अधिवेशन र मिस मगर जस्ता कार्यक्रम हुंदै थियो । पोखरामा आयोजना गरिएको मगर महिला नेपालको अधिवेशन संचालन हुँदै गर्दा मिरुना मगरको अवस्थाप्रति समर्थन जनाउँनुको साटो भैरहेको गतिविधि प्रति उत्तरदायी नभएको र घटनालाई अतिरन्जित नबनाउन भन्दै पन्छिएको थियो ।

यी संस्थाहरुका नेतृत्व सम्हालेका व्यक्तिहरु नै महिला हिंसाको विषयमा कमजोर रहेको प्रष्ट हुन्छ । आफ्नो समुदायका महिलाहरुको हकअधिकार सुनिश्चित गर्न बनाईएको यस्ता संस्था बाजागाजा खाजा मै सिमित भएको यो भन्दा ठुलो उदाहरण के हुन सक्छ र ?

आखिर जरुरत पर्दा मुकदर्शक हुने संस्था र व्यक्ति के काम ? के यी संस्था र व्यक्ति आफू अनुकुल हुने घटनाहरुमा मात्रै अगाडी आउने हो ? कि पीडित मानसिक रुपले सम्हालिनै नसकिने भएर डिप्रेसनमा पुगेपछि बल्ल सहानुभूति जाग्ने वा हत्या गरिएमा मात्रै पीडित प्रतिको दयाभाव पलाउनु कत्तिको जायज छ ?

अर्कोतिर पहिचान र समानताको पैरवी गर्नेहरु र क्रान्तिकारी पार्टीका मा आवद्द रहेर लैंगिक समानता महिला हिंसाबारे ठूला–ठूला गफ हाँक्नेहरुको वौद्दिकतामा पनि प्रश्नचिन्ह खडा हुन्छ जतिबेला कुनै महिलामाथि हिंसा भैरहेको हुन्छ । जतिबेला पीडितलाई अझ प्रताडित बनाउँदै पीडकको पक्षमा उभिएका देखिन्छन् । र पीडितको पक्षको समर्थन व्यक्ति विशषको समर्थन नै देख्छन् । तर, जब पहिचान र समानताको मुद्दा बोक्ने व्यक्तिको व्यवहारमाथि प्रश्न खडा गरिन्छ तब पहिचान र समानताको नारा बोक्ने व्यक्तिहरुमा भएका कमीकमजोरीलाई ढाकछोप गर्दै प्रश्न गर्ने विरुद्ध जाईलागेको दृश्य अपाच्य बनेको देखिन्छ ।

भिक्षुको भेषमा चलचित्र हेर्न गएका लामाले गल्ती स्विकारेपछि प्रहरीको उपस्थितिमा मिलापत्र गरिएपछी हुलदंगा गर्ने समूहबाट भएको हिंसाको लेखाजोखा गर्न त बाँकि नै छ । हाम्रो अगाडि पूजारी पास्टर शिक्षकहरुबाट यौनहिंसा भएका अनेकौं उदाहरण छन् । कुनैपनि धर्मले हिंसा गर भन्ने शिक्षा दिदैनन् तर ति धर्मको आडमा गलत क्रियाकलाप हुनेगरेको बालआश्रमको बहनामा बालिकाहरुलाई आफ्नो हवसको पूर्ति गर्ने माध्यम बनाउँनुले कुनैपनि व्यक्तिको खराब नियत ढाक्न असम्भव छ भन्ने प्रष्ट हुन्छ ।

त्यसो त यो लेखमा कसैप्रति आक्षेप लगाउनु पहिचान र समानताको मुद्दा कमजोर बन्यो भन्ने कदापी होइन । बरु पहिचान र समानताको मुद्दामा चर्काे नारा लगाउनेको नियत भने गलत हुन सक्छ भन्ने हो । चलचित्रकर्मीदेखि बौद्धिक महिला वा कुनै समुदायप्रति विमति पनि होइन । आसय निष्पक्ष समर्थनको विषयमा केन्द्रित छ । समर्थन र विरोध गर्दा जात वा वर्ग क्षेत्र अनुकुलता अनुरुप गर्नु हुन्न । कम्तिमा आकस्मिक भएका महिला हिंसाको प्रतिकारको पक्षमा त निष्पक्ष समर्थन गरौं ।

ताकि कुनै मुद्दा बोक्ने प्रति र लैंगिक समानताको नारा बोकेर लेख्नेहरु प्रति प्रश्नचिह्न खडा हुने अवस्थाको निर्माण नहोस् । पहिचान र समानता समावेशीता व्यबहारमा लागु होस । आफूमाथि कसैले हिंसा गर्दा दुव्र्यवहार हुँदैगर्दा तत्काल प्रतिकार गर्ने छोरीहरुको अभिवृद्धि होस् । तत्काल प्रतिकारको विषयमा मौन रहने बौद्धिक महिलाहरुको मौनता र पक्षपोषणका कारण व्याभिचारीहरुलाई भिडभाडमा कसैको गोप्य अंग छुन हौसला नमिलोस् भन्ने नै हो ।