काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले निकै ठूलो विकासको फड्को मारेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाल भने, ‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ । त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो, अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ । अहिले त्यस्तो दुःख छैन ।’
सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको पनि प्रधानमन्त्री देउवाले बताए । ‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन । सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन् । हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन । फेरि पनि पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ । महाकाली त्यही छ, पश्चिम सेती त्यही छ । त्यहाँ थुप्रै सम्भावनाहरू छन् ।’, देउवाले भने ।
सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ । यसलाई माथि उठाउनुपर्ने छ । त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताए ।
‘सुदूरपश्चिमको विकासको सम्भावना धेरै छन् । त्यसका लागि हामीले काम गर्नुपर्नेछ । त्यहाँ लगानी गर्ने मान्छेहरू लगानीको वातावरण पाउन सकेका छैनन् । सुरक्षित महसुस गरेका छैनन् । त्यसका लागि हामीले थुप्रै कामहरू गर्नुपर्नेछ,’ उनले भने, ‘ती काम भए भने सुदूरपश्चिम देशकै सबैभन्दा धनी प्रदेश बन्न सक्ने सम्भावना राख्दछ ।’