
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्डमा पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। जसमा पौडीकी गौरिक सिंह, भलिबलकी अरुणा शाही, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी रहेका छन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) का साथै वर्षभरको खेल प्रदर्शनका आधारमा पाँच खेलाडी मनोनयनमा परेका हुन्।
मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ।

गौरिका सिंह-पौडी
१३ औं दक्षिण एसियाली खेलकुदमा उनले चार स्वर्ण पदकका साथै दुई रजत र दुई कास्य पदक जितेकी थिइन्। सागमा उनले १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्। आठौं राष्ट्रिय खेलकुदमा पनि गौरिकाले सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्।

अरुणा शाही-भलिबल
१३ औं सागमा महिला भलिबलमा टिमकी कप्तान अरुणा नै थिइन्। सागको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको महिला भलिबलमा अरुणाको खेल सम्झनलायक थियो।
.jpg)
मण्डेकाजी श्रेष्ठ-कराते
१३ औं सागको पहिलो दिन मण्डेकाजले टिम काता र एकल काताबाट २ स्वर्ण पदक जितेर नेपाललाई सागमा सुरुवाती खुसी दिएका थिए। सागमा एकै संस्करणमा कराते खेलाडीबाट दुई स्वर्ण पदक जित्ने इतिहास उनको नाममा रह्यो।
.jpg)
सदिना श्रेष्ठ-बास्केटबल
१३ औँ सागमा रजत पदक जितेको महिला बास्केटबल टिमकी कप्तान हुन् सदिना। जहाँ सदिनाको योगदान महत्वपूर्ण थियो।

सावित्रा भण्डारी-फुटबल
नेपाली फुटबलमा धेरै चर्चा हुने खेलाडीमा पर्छिन् सावित्रा। गत वर्ष भारतमा सम्पन्न इन्डियन वुमेन्स लिगको दुई सिजनमा उनको खेल उत्कृष्ट रह्यो। उनले गोकुलम केरलालाई च्याम्पियन बनाउने क्रममा सर्वाधिक गोल मात्र गरिनन्, फाइनलमा निर्णायक गोल गरिन्।