काठमाडौँ – ‘धनीका लागि अदालत पनि अतिथि कक्षजस्तो भयो,’ मञ्चबाट एक किशोरी पात्र बोल्छिन् । रातो प्रकाशको परिधिमा देखिएकी उनले कालोे वस्त्रमा श्वेत पछ्यौरी ओढेकी छिन् । घाँटीमा मफलर छ । त्यो पनि रातो । हेर्दा लाग्छ, उनीहरू त्यही रातो मफलरले अत्याचारी, बला,त्कारीको घाँटी कस्न चाहन्छन् । उनीहरूलाई झुन्ड्याउन चाहन्छन् ।
तर, दर्शकदीर्घामा प्रश्न उठ्न सक्छ, ‘के दुई चार त्यस्ता पात्रलाई त्यसो गर्दैमा सबै समस्याको समाधान होला त ?’ उसो भए समस्या कहाँनेर हो ? सायद, हामीले बाँचिरहेको सामाजिक संरचना, त्यसले निर्माण गरेको मनोविज्ञान र त्यही मनोविज्ञानलाई आदर्श मानीहिँड्ने मानिसहरूको झुन्ड ! यही प्रश्न, यस्तै जवाफ र समाधानको खोजीका लागि एउटा टेलिभिजन कार्यक्रमको औपचारिक घोषणा हुँदै छ । कार्यक्रमको न्वारान गरिएको छ, ‘ऐना’ ।
नाटक चलिरहेछ । सुरुवाती चरणमा शिल्पी थिएटरका नाट्यकर्मी घिमिरे युवराजले नाटक बीस मिनेटमा सकिने बताएका थिए । तर, दर्शकहरू निरन्तर हेरिरहन चाहेजस्ता देखिन्छन् । मञ्चअघिको बत्ती निभेको सिटहरूमा आसिन दर्शकहरूको मौनता र एकाग्रताले यही भनिरहेको छ ।
यस्तैमा एक पात्र मञ्चमा आइपुग्छिन् ।
‘हे भगवान्, न्याय पनि बिक्री भयो । हे न्याय भगवान् पनि बिक्री भयो ।’ एउटा शान्त, उदास, यातनामय र अन्यायको संघारमा उभिएको तरबारजस्तो विद्रोही यो संवादको जड खोजी गर्न ७ माघदेखि ‘ऐना’ कार्यक्रम कान्तिपुर टेलिभिजनमा आउँदै छ । कार्यक्रमका प्रस्तोता छन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ।
दृश्यमा देखिएको नेपाली राजनीतिले भन्छ, ‘तात्कालिक मुद्दामा प्रतिक्रिया जनाइहाल । जनमानसको समर्थन जुटाइहाल । त्यसले सत्तालाई बलियो बनाउँछ या त सत्तामा पुग्न सहज हुन्छ ।’ त्यस्ता प्रतिक्रिया राष्ट्रवादको नाममा देखाइने हात्तीको दाँतजस्तो हुन सक्छ ।
या हुन सक्छ श्रीमतीलाई शोषण गरेर आमसभामा पुगेर नेताले दिएको अभिव्यक्ति । कुनै महिलालाई यौ,नदासी बनाएर आदर्शको छाँट दिने राजनीतिज्ञको अभिव्यक्ति पनि हुन सक्छ । तर, आमनागरिक त्यस्ता मान्छेको चारित्रिक विश्लेषण गर्न सक्ने चेतनामा नहुन सक्छन् । उनीहरूलाई नै शाषण गर्न त्यस्ता भाषणहरूको जादू चलाइएको हुन्छ ।
प्रस्तोताको रूपमा देखापर्दै गरेका शर्माको भने यसमाथि फरक अभिव्यक्ति छ । शिल्पी थिएटरको हलमा रित्ता कुर्सीहरू छन् । नाटक सकिएर औपचारिक कार्यक्रम पनि सकिएको छ । एउटा कुनाको कुर्सीमा थुचुक्क बसेका छन् शर्मा । उनी कांग्रेस नेता हुन् । महाधिवेशन आउँदै छ । पार्टीका प्रवक्ता पनि हुन् । मिडियाको दुई–चारवटा फोन पनि उठाइसके । र, भनिसके, ‘विधेयक फिर्ता नगरी प्रतिपक्षी दलका नेता बोलाउनुहुन्छ भने सभापति जानुहुन्न । कुरा यही हो ।’
एक समय शर्माले रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका थिए सम्पादक भएर । कविता लेखे, गीत लेखे । कथा पनि लेखे । शर्मा संगीतकार पनि हुन् । लकडाउनकै समयमा गीत लेखे, संगीत गरे । रेकर्ड गराएर सार्वजनिक गरे । अहिले कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने तयारीमा छन् ।
२६ एपिसोडको कार्यक्रमले सामाजिक मुद्दा प्रखरताका साथ उठाएर आउने दाबी गर्छन् शर्मा । ‘एक कालखण्डमा सामाजिक रूपान्तरणका लागि काम भएका छन् । तर, अहिले आएर समस्या जटिल बनेर गएको छ,’ शर्मा भन्छन्, ‘राजनीतिले ती मुद्दालाई सार्थक र संगठित भएर हस्ताक्षेप गर्दै जति प्रखरताका साथ राख्नुपर्ने हो, त्यो सकेको छैन । बरु दलको भन्दा एनजिओहरूको पो मुद्दा भए कि भन्ने छवि देखिन्छ । त्यसकारण पनि यो कार्यक्रमको तयारी गरेको हो ।’नयाँ पत्रिका दैनिक