काठमाडौँ – प्रतिनिधि सभाका सांसद तथा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले विदेशको आवासीय भीसा बारेमा संविधान सभाका सदस्यहरुको बुझाई गलत भएका कारण विदेशमा रहिआएका नेपालीहरुको नेपाली नागरिकतामा समस्या आएको तथ्य उजागर गरेका छन् ।
गत डिसेम्बर १२ मा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (बीजीएनसीसी, यूके) द्धारा आयोजित एक भर्चुअल कार्यक्रममा अतिथिको रुपमा बोल्दै उनले तत्कालीन संविधान सभामा संविधान मस्यौदा समितिको सदस्यको रुपमा आफूले गरेका प्रयासहरुको स्मरण गराए ।
आफू विद्यावारिधि गर्ने सिलसिलामा कुनै बेला अमेरिकामा छँदा विदेशी ग्रीन कार्ड के हो र के होइन भन्ने बारेमा सैदान्तिक र व्यवहारिक दुवै ज्ञान आफूलाई जानकारी भएको स्पष्ट पारे ।
“विदेशमा रहने नेपालीहरुको आवासीय भिसा भनेको यो काम गर्न र आवत जावत गर्ने सुविधा मात्र हो, त्यहाँको नागरिकता होइन । मैले अन्य दलका सभासदहरुलाई बुझाउन चाहें तर त्यसमा असफल रहें” – उनले हाल सत्तामा उनीहरु नै भएको हुनाले यस बिषयले गति नलिएको भन्दै ग्रीन कार्डको सुविधा लिंदा नागरिकता गुमाउनु पर्ने अवस्था समाप्त गर्न वर्तमान सत्ताधारी दलका नेताहरु मानसिक रुपमा तयार हुन पर्ने विचार राखे ।
“अमेरिकाको ग्रीनकार्ड वाहक एउटा भारतीयले भारतीय रिजर्भ बैंकको गभर्नर बन्न पाउने तर नेपालीलै चाहिं नेपाल राष्ट्र बैंकमा गभर्नर बन्न नसक्नुको कारण के इर्ष्याको संस्कार नै होइन ?” भन्दै डा. महतले तथाकथित राष्ट्रवादीहरुले आफ्ना नागरिकहरुलाई विदेशको लागि लड्न पठाएर आफ्नो देशको नागरिकताबाटै बञ्चित गराउन तत्काल छोड्न आग्रह गरे ।
त्यस्तै पूर्व परराष्ट्र मन्त्री डा. महतले विदेशका पूर्ण नागरिकता लिईसकेका नैपालीहरुका लागि पनि के गर्न सकिन्छ भन्नै बिषयमा पनि एउटा राष्ट्रिय वहस चलाउन जरुरी भएको विचार पोखे ।
डा. महतले कार्यक्रमको दौरानमा कतिपय सहभागीहरुले आफ्नो पार्टीप्रति कटाक्ष गर्दै नेपाली कांग्रेसको कतै कुनै सम्प्रदायलाई नै अलग्याउने षडयन्त्र त थिएन भन्ने भनाईहरुकौ प्रतिवाद गरे । उनले भने – “नेपाली कांग्रेस पार्टी हामी सिधा कुरा गर्छौं । हामी जनतातिर फर्केर एउटा कुरा र जहाँ आफ्ना कुराहरु राख्नुपर्ने हो त्यहाँ अर्को कुरा हामी गर्दैनौं ।”
त्यस्तै उनले नेपाली कांग्रेस सबै वर्ग, क्षैत्र र समुदायको साझा पार्टी भएको र लोकतान्त्रिक मूल्य र मान्यतामा विस्वास गर्ने पार्टी रहिआएको हुनाले कांग्रेसप्रति कुनै शंका नगर्न अनुरोध गरे ।
सोही प्रसंगमा सांसद डा. महतले नेपाली कांग्रेस पार्टीका तर्फबाट सन् १९९० को दशकमा कांग्रेसका तत्कालीन नेता शेरबहादुर देउवाले गोर्खाहरुको न्यायको लागि थालेका प्रयासहरुको स्मरण गराए ।
“जब जब सत्तामा पुग्यौं यो कुरालाई नेपाली कांग्रेसले बलियो गरी राखेको छ” – उनले आफू विदेशमन्त्री भएको बेला १९९७ को कट अफ अन्यायपूर्ण भएको भन्दै लिखित रुपमा बेलायतस्थित नेपाली राजदुतलाई त्रिपक्षीय वार्ता शुरु गर्न निर्देशन दिएको यथार्थ पनि कोट्याए ।
“चाहे गोर्खा होस् वा अन्य नेपालीका लागि होस्, उनीहरुको विदेशको आवासीय भिसा र उनीहरुको नेपाली नागरिकताबीच कुनै तारतम्य छैन । यो गलत बुझाई चिर्नका लागि एउटा राष्ट्रिय बहसको आवश्यकता छ ।आफ्ना नागरिकहरुलाई राज्यविहीन अवस्थामा पुर्याउनु साँघुरो सोचबाट सबैभन्दा पहिले त झण्डै दुई तिहाई बहुमत भएको सत्तारुढ पार्टी नै बाहिर निस्कनु पर्यो । जबसम्म नागरिकलाई हामी अधिकार सम्पन्न बनाउन सक्दैनौं, नागरिकको जुन सम्भावना र सृजना छ क्षमता छ त्यसको पूर्ण प्रयोग हुँदैन” – उनको भनाई थियो ।
उनले आजको विज्ञापनको जमानामा नेपाली कांग्रेस विज्ञापनमूखी नभएकोले मात्र गोर्खा र नागरिकता अभियानमा कांग्रैसले गरेका प्रयासहरु बारेमा सबैलाई पूर्ण जानकारी नभएको जिकिर गरे ।
“अर्काको देशको लागि लडन् भने अनुमति दिने तर आफ्नो देशको नागरिकताबाट बञ्चित गराउने र उनीहरुले नेपाल फर्केर देशको लागि केही गर्न खोज्दा आपत्ति हुनु कति पनि जायज होइन” – यस बारेमा अन्य दलहरु मात्रै नभएर आफ्नै पार्टीका साथीहरु पनि दुुविधामा रहेका भए आफू राष्ट्रिय रुपमा बहस गर्न तयार रहेको जानकारी गराए ।
कार्यक्रममा माननीय सभासदहरु उपेन्द्र यादव, सेर बहादुर तामाङ र संविधानविद तथा बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली अतिथिकौ रुपमा उपस्थित थिए ।