April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छोरीचेली असुरक्षित छन्, समिक्षाको पक्षमा लेखेर पछुतो छैनः हेमन्त गिरी

२०७८ फाल्गुन १९

5.6K

हेमन्त गिरी

समिक्षाको पक्षमा लेखेर पछुतो छैन । हाम्रा कलमहरूले लेख्नु पर्ने नै समीक्षाको पक्षमा हो । शब्दहरू अलि कडा लाग्लान, तर समाजमा कैयौं समीक्षाहरू छन्, जसलाई ‘माल’ नामले बोलाइन्छ । अझ भनौं ‘भर्जिन माल’ बोलाइन्छ र ‘खाने’ चाहना राखिन्छ । समाजमा अनेकौं समीक्षा छन्, जो कसैको प्रेममा अन्धो भएर ‘बिस्तारा’ बनिरहेको पत्तो समेत पाउँदैनन । समाजमा अनेकौं समीक्षा छन्, जसको महत्वाकांक्षाले डोहोर्‍याएर उनीहरूलाई बलात्कृत र हत्या हुने अवस्थासम्म पुर्‍याउँछ । यो कुनै अधिकारी थरकी समीक्षाको कुरो मात्र हैन ।

यो पुरुषप्रधान समाज हो । त्यसमाथि पनि यो शक्तिप्रधान समाज हो । शक्तिशाली मानिसका ठूला भन्दा ठूला गल्ती ढाकिने र निर्बल मानिस जीवनभर ‘जलील’ हुने समाज हो यो । ‘एम सर’ फेरि राजनीतिमा आउनुभयो, तर ती महिला पागल करार भएकी छिन्् ।

Advertisement

हो, केही प्रक्रियागत गल्तीहरू होलान् । केही आवेश र आवेगहरू होलान् । ‘अति’ भएपछि प्रतिशोधका भावनाहरू पनि उत्पन्न भए होलान् । यसकै आधारमा लैंगिक हिंसा र दमनहरूलाई ‘सामान्यीकरण’ गर्न मिल्दैन । यो समाजमा पुरुष आधिपत्य र वर्चस्व थियो, छ र कहिले सम्म रहिरहने हो थाहा छैन । यसको अर्थ पुरुष पीडित नै छैनन् भन्ने पनि होइन । समाज अध्ययन गर्दा सापेक्षतामा गरिनुपर्छ ।

हामी लेख्नेहरू न्यायाधिश हैनौं, हामी ‘फिस’ पाएका वकिल पनि हैनौं । तर, हामीले धारणा राख्न हामीलाई हाम्रो व्यवस्थाले दिएको छ, संविधानले दिएको छ ।

बाल÷किशोर मस्तिष्क र वयस्क मस्तिष्क एकै किसिमको हुँदैन । त्यसैले कानूनमै उमेर समूहहरू उल्लेख गरिएको छ र हिंसाका प्रकारहरू पनि उल्लेख गरिएको छ ।

समाजका नायक मानिएकाहरू (रिलका हुन् वा रियलका) प्रचलित कानूनको पहिलो पालक हुनुपर्छ । तर, त्यस्तो जिम्मेवारीबोध राजनीतिज्ञदेखि आम मानिस कसैमा देखिंदैन । देश अस्तव्यस्त छ । कानूनमा छिद्रहरू छन् । पद र पहुँचको आधारमा आपराधिक उन्मुक्तिहरू संस्थागत भएका छन् । ‘मैले यति गरे कसले के गर्न सक्ला र ?’ भन्ने मानसिकता प्रत्येक मानिसको मगजमा भरिएको छ । हत्या,बलात्कार जस्ता विषयहरू एकथरिको लागि मनोरञ्जनका साधन बनेका छन् । अर्कोथरीका लागि अर्थोपार्जनका उपाय बनेका छन् । छोरीचेली सबै भन्दा असुरक्षित छन् । विज्ञान र प्रविधिको चरम दुरुपयोग छ । क्षणभरको ‘पपुलारिटी’ को लागि मानिसहरू ‘जे पनि’ गरिरहेका छन् । यही अस्तव्यस्त समाजका उत्पादन हुन् यी कथित ‘काण्डहरू’ पनि !

सबैभन्दा बढि नराम्रा सामग्री हेरिने समाज बनेको छ नेपाली समाज । नराम्रा कुरा फैलाइने समाज बनेको छ नेपाली समाज । चेतना हिंड्न सुरु गरेकै छैन, प्रविधि विश्वस्तरको भित्रिएको छ । चेतना र प्रविधिबीच गतिलो तालमेल नहुँदा समाज उथलपुथल बनेको छ ।

चाहे उमेर नपुगेका बालबालिकाको यौन शोषण होस वा तिनै उमेर नपुगेका भनिएका बालबालिकाको अस्वाभाविक ‘एडल्ट’ व्यवहार होउन्, सबै अस्तव्यस्त समाजका बाइप्रोडक्ट हुन ।

तर सत्य त सत्य हो । सत्य यो हो कि देश र समाजको लागि एउटा लिखित कानून हुन्छ, जसले अड्डा अदालत र जेल नेल पु¥याउँछ । अर्को अलिखित कानून हुन्छ, जसले मानिसलाई आफ्नो मर्यादा र दायरामा बाँधेर राख्छ । अलिखित कानून उल्लंघन हुने समाजमा चाहिने हो लिखित कानून । तर हाम्रो समाज त लिखित कानूनले नै तह लगाउन नसक्ने यात्रामा अघि बढिरहेछ, के गर्न सकियो र ?

समयले सबलाई सतबुद्धि देओस् !

लेखक हाल जापानमा कार्यररत छन् । उनी कवि तथा लेखक हुन् ।