April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेले गरेका नियुक्ति खारेज गर्दै बागमती सरकार

4.1K

हेटौंडा : बागमती प्रदेश सरकारले अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति एक साताभित्र खारेज गर्ने तयारी गरेको छ।

बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रक्रिया टुङ्ग्याएर एक साताभित्रै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

प्रक्रियागत विषय नटुङ्ग्याउँदा कानुनी समस्या हुने र अदालती प्रक्रिया झेल्नुपर्ने भएकाले प्रक्रिया पुर्‍याएर अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्ने तयारी भएको उनले बताए।

Advertisement

खनालले यसअघिको एमाले नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको बताए।

कानुनी प्रक्रियाका कारण राजनीतिक नियुक्तिहरू खारेज गर्न समस्या हुने भन्दै अदालतको झन्झटमा नपर्न केही समय लिएर प्रक्रिया मिलाएर मात्रै खारेजी गरिने बताए।

बागमतीमा प्रदेश सहकारी बोर्ड, दुग्ध विकास बोर्ड, प्रदेश खेलकुद विकास परिषद्, प्रदेश युवा परिषद्, व्यवसाय प्रवर्धन बोर्डलगायतका करिब १५ देखि २० वटा निकायमा एमाले सरकारले नियुक्त गरेकाहरूलाई हटाउने सरकारको तयारी रहेको बुझिएको छ।

नियुक्त पदाधिकारीहरूलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने कामसमेत भइसकेको स्रोतले जानकारी दिएको छ।