गैर-आवासीय नेपाली संघमा महिलाहरुको भूमिका र नेतृत्व एउटा चासोको बिषय बन्दै गइरहँदा संघमा महिला नेतृत्व, सशक्तिकरण र चुनौतिहरुबारे एक भर्चुअल अन्तरकृया कार्यक्रम भएको छ ।
संस्थाले १७औं वसन्त पार गर्दै गर्दा संस्थाभित्र महिलाहरुको के कस्तो भूमिका रह्यो त ? रथका दुई पांग्रा मध्ये एक भनिए जस्तै के महिलाहरुले गैर आवासीय नेपाली संघलाई यो अवस्थासम्म ल्याई पुर्याउन उत्तिकै जिम्मेवारी बहन गर्न सफल भए त ? जिम्मेवारी बहन गर्न अग्रसर महिलाहरुले पदीय दायित्व निभाउने क्रममा के कस्ता अनुभव, भोगाई र चुनौतिहरुको सामना गर्नु पर्यो ? आगामी दिनमा संस्था भित्र महिलाहरुको उपस्थिति र नेतृत्व साथै संस्थालाई मार्गदर्शनको निम्ति के कस्ता सुझाव दिन चाहन्छन ? यीनै बिषयहरुमा केन्द्रित रहेर यहि डिसेम्बर १५ मा नेपाल मामिला डट कमले एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको हो ।
प्रधान सम्पादक खुशी लिम्बुद्वारा संचालित कार्यक्रममा एनआरएनए आइसीसीका वर्तमान महिला संयोजक भोमा लिम्बू (अस्ट्रेलिया), निवर्तमान एनआरएनए आइसीसी महिला संयोजक रजनी प्रधान (वेल्जियम) र पूर्व सचिव र प्रवक्ता रन्जु वाग्ले थापा (अष्ट्रेलिया) अतिथि वक्ताका रुपमा उपस्थित थिए ।
त्यस्तै कार्यक्रमको प्यानलिस्टहरुमा प्राइम टाइम टीभीका सञ्चालिका दृष्टिवाणी धिताल (काठमाण्डौं), नेपाल मामिला डट कमकै प्रदेश नं १ सम्वाददाता सावित्रा दहाल (झापा) र अमेरिका सम्वाददाता इन्दिरा चोङ्गबाङ्ग (युएसए) र सामाजिक अभियन्ता तथा एनआरएनए आइसीसी कार्यदल सदस्य सांग्रिला सुन्दरी लामा (स्पेन) को सहभागिता रह्यो ।
आफ्नो मन्तव्य राख्ने क्रममा र प्यानलिस्ट पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रन्जु वाग्ले थापाले शुरुवाती दिनहरु देखि नै एनआरएनए भित्र महिलाहरुले आफ्नो अस्तित्वको निम्ति संघर्ष गर्नु परेको बताइन्। रसियामा जन्मेको नारी निकुञ्जले बिभिन्न अवरोधहरु पार गर्दै आफ्नो सक्रियतामा महिला फोरमको रुप लिएको रोचक दृष्टान्त समेत प्रस्तुत गरिन्।
“एनआरएनएमा महिलाहरु जस्तो सुकै जिम्मेवारी निभाउन सक्षम छन् र संस्था हाँक्ने अभिभारा महिलाहरु माथि आए संस्थाले झन् सफलताको साथ गति लिनेमा म आफू पूर्ण रुपमा विस्वस्त छु” – पूर्व प्रवक्ता वाग्लेको भनाइ थियो ।
निवर्तमान महिला संयोजक रजनी प्रधानले संस्थाभित्र महिला–महिलाबीचमै प्रतिस्पर्धा हुनुहुँदैन भन्ने कुरामा जोड दिइन्। उसै त संस्था भित्र महिला सहभागिता थोरै मात्र रहिआएको र त्यसमाथि स्थानको निम्ति एक आपसमा होडबाजीले झन् संख्या थोरै हुन गएको बताइन् । उनले यूरोप जस्तो ठूलो क्षेत्रमा महिला पदाधिकारी थप्नु पर्ने कुरामा जोड दिंदै महाधिवेशन अगावै नेतृत्वको निम्ति अग्रसर हुने महिलाहरुले समझदारीमा पदको बाँड फाँड गर्नु पर्छ भन्ने सुझाव प्रस्तुत गरिन् ।
उनले आफ्नो कार्यकालमा मध्यपूर्व क्षेत्रमा नेपाली महिलाहरुको उत्थानको निम्ति अभियान संचालन गर्नुको साथै नेपालको विकट गाउँहरुमा समेत अनेक प्रकारका प्रोजेक्टहरु सफलताको साथ सम्पन्न भएको जानकारी गराइन्।
त्यस्तै वर्तमान महिला संयोजक भोमा लिम्बुले संस्थाभित्र नीतिनिर्माणको मामिलामा महिला सहभागितालाई गौण मनिन्दै आएको र यसमा सुधार हुनुपर्ने कुरामा जोड दिइन्। कतिपय अवस्थामा बैठक र कार्यक्रमहरुमा समेत महिलाहरुलाई प्राथमिकता नदिइने हुनाले अस्तित्व र अधिकारको निम्ति संघर्ष गरिरहनु परेको यथार्थ उजागर गरिन् ।
“यस्ता कारणहरुले कतिपय महिला दिदीबहिनीहरुलाई निरुत्साहित गरेको छ। कतिपय क्षेत्रीय नेतृत्वमा सक्षम महिला दिदीबहिनीहरु उदाएका भए पनि यी यावत कारणहरु र वर्तमान कठिन परिस्थितिको कारण सक्रिय रुपमा गतिविधि संचालन गर्न सकिएको छैन”– उनले प्रष्ट पारिन् ।
आफ्नो विचार राख्ने क्रममा महिला संयोजक लिम्बूले एनआरएनएले विधान संशोधनको प्रक्रिया थालेको यस अवस्थामा विधानले नै संस्था भित्र महिलाहरुको शसक्त उपस्थितिलाई संस्थागत गर्न पर्नेमा जोड दिइन् । आफ्नो कार्यकालको उत्तरार्धमा नै भए पनि क्षेत्रीय महिला संयोजकहरुको सहकार्यमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बारे पनि उनले जानकारी दिइन् ।
अतिथि वक्ता सांग्रिला सुन्दरी लामाले यूरोप जस्तो क्षेत्रमा समेत नेपाली महिलाहरुले कार्यक्रममा कुनै स्थान नपाएको देखेको र पुरुषहरु बाट नै महिलाहरुलाई अवरोध गरिने हुनाले महिलाहरु एक भएर अघि बढ्नु पर्ने सुझाव दिइन् ।
प्यानलिस्ट पत्रकारहरु दृष्टिवाणी धिताल, सावित्रा दहाल र इन्दिरा चोङ्गबाङ्ले वक्ताहरुलाई प्रश्नको साथ साथै महिला सशक्तिकरणका बारेमा बिभिन्न सुझावहरु दिएका थिए । उहाँहरुले नेपाल मामिला डट कमले एउटा राम्रो अवधारणाको शुरुवात गरेको बताउनु हुँदै यो कार्यक्रमको निरन्तरताको निम्ति शुभ कामना व्यक्त गरेका थिए।