April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कविता: ‘सहिदको उद्वघोष’

12.4K

सुनिल आङ्बो

दरबारहरुको हातामा कैद भएको सपना
अनिकाल र विभेदको मानचित्रमा हाँसिरहेको देशसँग
जीवनको हिसाब खोज्दै , मृत्युु रोजेर
सम्बन्धहरुबाट विच्छेद भएका हौं हामी ।

समाजवादको सागरमा
भविश्यको जहाज खियाउँदै
मोक्ष प्राप्तिको लक्ष्य बोकेर
रगतले मृत्युपत्रमा हस्ताक्षर गरि
बोइलर मुटु बोकेर हिडेका
शासकहरुलाई परास्त गर्न
आफ्नै आयुलाई हत्केलामा राखेर
सयर भएका हौं ।

Advertisement

यो अँध्यारो विरुद्ध
जुनकीरीको उज्यालो निकालेका हौं
र’त मैदानमा
कोहि हिड्दा–हिड्दै बीच बाटोमा
कोहि लड्दा–लड्दै आधा मोर्चामा
सहिद भएका हौँ ।

तर–
अचम्म दुनियाँ
अभाव र विभेदको पहाड
झन्–झन्
सगरमाथा छिचोल्दै उकालैउकालो लाग्दै गयो ।
समृद्धको सालिक पुज्नेहरुले
म र म जस्ता सहिदहरुको रगत
सिनित्तै पारेपछि
बर्षदिनमा एकचोटि डकार्ने
सहिद दिवस चाहिँदैन अब !
सहिदहरुको सम्मानमा एक मिनेट मौनधारणमा
लत्रिने तिम्रा शिरहरू चाहिँदैन अब
सालिकबाट निस्केर म सहिद
तिमीविरुद्ध युद्ध मैदानमा फेरि तैनाथ भइसकेको छु ।