April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

म जस्तै परिस्थितिमा पनि सकारात्मक भाव राख्छु: दीपा राई पुन

7.6K

पान्थरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी साहत्यिकार दीपा राई पुन अहिले अमेरिकामा बस्दै आएकी छिन् । उनको ‘ऊ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म उनका तीनवटा कविता संग्रह प्रकाशित छन् । त्यस्तै, अन्य थुप्रै फुटकर कविताहरू प्रकाशित छन् । पछिल्लो समय उनी गीत लेखनमा पनि व्यस्त छिन् । ‘आमा’, ‘कहिँ चोट बल्झेको बेला’, ‘तिमी मेरो म तिम्रो’ जस्ता चर्चित गीतहरुको रचना तथा भिडियो निर्माण गरेकी दीपा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बोस्टन च्याप्टर अध्यक्ष, अनेसास पुरस्कार समितिको सदस्य , बिओटीको सदस्य हुन् । केहि समयका लागि नेपाल आएकी उनीसँग नेपाल मामिलाले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपालको बसाई कस्तो हुँदैछ ? अब कति बस्नुहुन्छ ?
रमाइलो । अवस्था/व्यवस्था फरक भएपनि स्वदेश हो । अझैं केहि समय बस्छु । आमा र माटो सधै प्यारो हुन्छ ।

कोभिड समयको कति समयपछि आउनुभएको हो नेपाल ?
एक बर्ष ९ महिना पछि आएको हूँ ।

Advertisement

सधैं नेपाल आउनुहुँदा केहि न केहि विमोचन या कार्यक्रम राख्नुहुन्थ्यो, यसपटक छैन ?
छ नि ! यसपटक चाहिँ समयले जुराएको दिन विमोचन हुनेछ । कार्यक्रमहरू पनि अवश्य हुन्छन् । साथीहरूले कार्यक्रम राख्ने कुरा गरिरहनुहुँदा पनि म चाहिँ यसपटक अलिक घरायसी काममा व्यस्त छु ।

अहिले त गीत लेखनमा पो सक्रियता देखिएको छ तपाईंलाई, गीत लेख्न राम्रो कि कविता ?
लेख्नु त दुबै राम्रो । विधा फरक हुन् । दुबैमा कला रचना आवश्यक हुन्छ ।

गीतहरूमा लगानी निकै हुने गरेको छ, प्रवासमा हुनेहरूले धेरै गरेका छन्, यसै लाइनमा थपिनु त भएन ?
लाइनमा हुनेनहुने कुरा भन्दा पनि विषयवस्तु र कलाकारको व्यवस्थाअनुसार हुने भएकाले यसै किटान गरेर भन्न सकिन्न । तर खर्च राम्रो हुन्छ ।

कोभिडपछि साहित्य लेखन कतातिर मोडिएको छ ?
अरूको कता मोडियो थाहा भएन । आफू त जस्तै परिस्थितिमा पनि सकारात्मक भाव राख्छु । जीवनलाई खुशीले जीउन दिनुपर्छ भन्छु । कोभिडको त्रास छ । फेरि पनि भोलीको सुखद भविष्यको आसा पनि त छ । लेख्ने कुराको पनि खास सन्दर्भ हुन्छ जस्तो लाग्दैन मलाई ।

कोभिड पछि भर्चुअल दुनियाँलाई झनै नजिक ल्याएको छ, यसैमार्फत साहित्यिक गतिविधि पनि बढेका छन्, यहाँको कस्तो रह्यो उपस्थिति ?
सुरूमा भर्चुअल दुनियाँमा निकै व्यस्त भइयो । बिस्तारै त्यो दुनियाँ भुलभुलैयाको खेल जस्तो पो लाग्न थाल्यो । आज भोली मौन रहेर पढने, लेख्ने, घरकै कामहरूमा आफूलाई व्यस्त राखेर रमाउँने भएको छु ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गतिविधि कस्तो रहँदै आएको छ ?
भर्चुअल हुने भएकोले पनि यसबेला केन्द्रको कार्यक्रम होस् अथवा च्याप्टरको सक्रिय रूपले निरन्तर भइरहेको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न हाम्रो प्रयास निरन्तर जारी छ । नयाँ पुरस्कारको स्थापना र सन्सार भरी साहित्यिक गतिविधिहरू भैरहेका छन् ।

प्रवासबाट लेखिने साहित्यले नेपाली समाजको चित्रण अलि बढि गरेको पाइन्छ, प्रवासीय नेपालीबारे लेखिनुपर्नेबारे के सोच्दैहुनुहुन्छ ?
हिजो आज यस सम्बन्धमा धेरै लेखहरू लेखिएका छन् । लेखिदै छन् । डायस्पोरा सम्बन्धी चिन्तन मनन् भैरहेका छन् । समय क्रममा लेखिदै जान्छन् । म पनि यसबारे केहि लेख्दै छु ।

आगामी कृति के आउँदैछ ?
चौथो कविता कृति नै आउँदैछ ।