April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने

2.5K

काठमाडौं । अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने सरकारको तयारी रहेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापनको लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।

शनिबार अनलाइन पत्रकार संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताए ।

पत्रकारहरुलाई पनि अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी गर्न मन्त्री कार्कीले आग्रह गरे । अनलाईन सञ्चारमाध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

‘अनलाइन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ । अनलाइन सञ्चारमाध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो । अनलाइन पत्रकार संघले अनलाईन पत्रकारिता तथा श्रमजीवी पत्रकारको पक्षमा गरेको कार्यप्रति म जानकार छु । अबका दिनमा पनि यस्ता राम्रा कार्यले निरन्तरता पाउने आशा र अपेक्षा लिएको छु र यहाँ व्यक्त गर्न चाहन्छु ।’ ,मन्त्री कार्कीले भने ।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं उभिने दृढता समेत व्यक्त व्यक्त गर्दै मन्त्री कार्कीले भने, ‘स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन, सम्बर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यमको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पनि पार्न चाहन्छु । अनलाइन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाइरहेको छ । अबको दिनमा पनि यस्तै कार्य अझ परिस्कृत रुपमा अघि बढन सकून् भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरूबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईंहरुको साथमा रहेर काम गर्नेछ ।’