नोभेम्वर २५ महिला हिंसा विरुद्धको विश्वव्यापी दिवस हो । सन् २००० देखि मनाइंदै आएको यो दिवसको मूख्य उद्देश्य भनेको महिला हिंसा न्यून होस भन्ने नै हो । नारी, अर्थात महिलाको भूमिका हरेक क्षेत्रमा उच्च र महत्वपूर्ण मानिन्छ । मानव जन्मेदेखि मृत्युसम्म नारी पूजनीय छ, आमाको छायाँमा होस या, दिदीबहिनीको मायामा, श्रीमतीको साथमा, छोरी चेलीको रूपमा या साथी संगीनीको सहयोगमा नारी बिना जीवन अपूरो छ, अधूरो छ । तर विडम्वना कस्तो छ भने आधा आकाश ढाक्ने हामी श्रृष्टिकर्ता नारी आजपनि ठूलो संख्यामा अबला अनि संसारभरी नै हिंसाका शिकार भईरहेका छौं ।
हाम्रो समाजको सोच र परिवेशमा परिवर्तन ल्याउन जरुरी छ । रीतिरिवाज, परम्परागत संस्कृति र धर्म संस्कारको नाममा चलाउँदै आएका पीडक प्रचलनहरूमा न्यायसँगत परिवर्तन अपरिहार्य छ । नारीलाई स्वतन्त्र एक्लै हिँडडुल गर्न, निर्णय लिन र सुरक्षाको प्रत्याभूति दिनु धेरै आवश्यक छ । हरेक छेत्रमा समान अवसर र दायीत्व बराबर रूपमा दिनुपर्छ । हाम्रा साना साना छोरीहरु मात्र होइन, हजुरआमा, आमाहरु सबैलाई उचित ज्ञान, सुरक्षा र न्याय दिलाउन सक्नु पर्दछ । यति मात्र हैन हिंसालाई लुकाउने र ढाकछोप गर्ने र संरक्षण दिनु हुँदैन । यसबाट हिसां बढ्दै जाने सम्भावना धेरै हुन्छ । हिसां बारे आफ्नो परिवार या साथी, विस्वासिलो संघ–संस्थाका पदाधिकारी आदि या पुलिसलाई जानकारी समयमै दिनुपर्छ जसबाट हिंसालाई कम मात्र होइन धेरै हद सम्म रोक्न पनि सकिन्छ ।
विकसित देशहरूमा समेत महिला हिंसाको तथ्याङ्क राम्रो छैन । त्यसकारण यस विषय हामीले सोचे जति सरल छैन । हिसांका घटनाहरू न्यून पार्न र घटना हुन नदिनको लागि दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ र धेरै देशहरूले बुझेर पालन गरिसकेका पनि छन् । तर हाम्रो नेपाली समाज धेरै पछाडि परेका छौँ या पारिएका छौँ । जसको प्रमुख कारणहरू मध्ये हाम्रो पुरानै सोच, उचित शिक्षाको कमी, आर्थिक कमजोरी साथै देशको राजनीतिक अस्थिरता र कार्यवीधि फितलो हुनु हो । बढी पुरूषप्रधान मानसिकता, सामाजिक थिचोमिचो लगायत महिलाले नै महिलामाथि गरेका हिंसाहरु पनि हो ।
महिला हिंसाका स्वरूपहरू परिवर्तन हुदैछन् । केही वर्ष अघिसम्म कुटपिटमा पर्नु, खाना नपाउनु या यौन उत्पिडनमा पर्नु लगायत कुराहरूमा सीमित महिला हिंसाको परिभाषा अहिले आएर समाजका हरेक कुराहरुमा खोज्नुपर्ने भएको छ । हरेक प्रकारको हिंसाको लेखाजोखा हुने हो भने या हरेक महिलाहरुले हिम्मत गरेर मुख खोल्ने या आवाज उठाउने हो भने वास्तविक अवस्था निकै भयावह देखिन्छ । गरीब परिवार होस या उच्च खानदान, परिवारको इज्जत जाने भन्दै डर देखाइ मानसिक तनाव दिएर हिसां बारेमा बोल्न दिइँदैन । आफ्नो स्वार्थ पुरा गर्न या आफ्नो आत्मसन्तुष्टिका लागि एकले अर्कालाई दोषारोपण गर्नु, दुर्ब्यबहार गर्नु, अपमान गर्नु या ‘कुरा काट्नु’ पनि महिला हिंसा नै हो । किनभने यसबाट सृजना हुने मानसिक तनावमा धेरै पीडित छन् ।
आधुनिक समयमा सहयोगी र शिक्षित पुरुषहरु पनि छन्, जसले नारीहरूलाई बुझ्ने र सम्मान दिएका छन् । अवसर दिएका छन् (जुन न्युन छन्) भने नारीहरूले पुरूषहरूलाई मात्रै दोष दिएर बस्नु उचित हुँदैन । महिलाहरू स्वयं पनि सच्चिनुपर्ने समय भएको छ । अरूको पछि मात्र नलागी सही र गलतलाई आफैं छुट्याउन सक्नुपर्छ । लोभ र जालझेलमा फस्नु हुँदैन । पुरुषले मात्र महिला हिंसा गर्दैनन् । यो मानसिकता परिवर्तन सबैमा ल्याउन जरुरी पनि छ ।
वैदेशिक रोजगार र उज्वल भविष्यको लोभमा परेर दलालहरूको हातमा परेर धेरै मानसिक, शारीरिक र आर्थिक यातना पाउनु, सामाजिक सञ्जालबाट गलत मान्छेको फन्दामा पर्नु, ठगिनु, कार्यक्षेत्रमा होस या सार्वजनिक यातायात आदिमा नारीहरूले तुलनात्मक रूपमा धेरै दुःख भोग्नुपरेको छ । यी सबै हिंसाहरू हुन् । हरेक कुरामा दोहोरो अर्थ लाग्ने गरी लेख्नु वा बोल्नु, राम्रो कुरालाई पनि गलत आशयले प्रस्तुत गर्नु पनि हिंसा नै हुन् ।
पुरुषले गर्ने महिला हिंसा धेरै छन् त्यो सत्य हो भने अर्को तितो यथार्थ महिलाले नै महिलामाथि गरेका हिंसाहरुको अवस्था पनि विकराल नै देखिन्छ । यसको ज्वलन्त उदाहरण कैयौं सासु–बुहारीबीचको चिसो सम्बन्ध या नन्द–भाउजू बिचको थिचोमिचो आदिलाई लिन सकिन्छ ।
हाम्रो समाजका प्रत्येक क्षेत्र, घर परिवार, संघ–संस्था, कार्यक्षेत्र आदिबाट हिंसाबिरुद्ध आवाज उठाउन र लड्न जरूरी छ । सबै महिला–पूरूष मिली यसको समाधान गर्न प्रयास गर्नुपर्छ । महिला माथिको हिंसा अन्त्य दिवसमा सबै किसिमका लैंङ्गिक हिंसाहरु समाजबाट मेटिएर जाउन् र समतामूलक समाजको स्थापना होओस् भन्ने शुभकामना सहित ।
सांग्रिला सुन्दरी लामा, म्याड्रिड स्पेन