काठमाडौँ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गर्दै नयाँ नेतृत्व छनौट थप अनिश्चित बनाइदिएको छ । एनआरएनएका अनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक भएको थियो ।
गत शुक्रबार उक्त समयतालिका सार्वजनिक भएपछि परराष्ट्रले फेरि पत्राचार गर्दै अर्को निर्देशन जारी गरेको हो । निर्वाचन समयतालिका सार्वजनिक गरेकै दिन गत शुक्रबार नै परराष्ट्रले पत्र काटेर निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषदलाई तोकिदिएको छ । जसको नेतृत्व एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले गरिरहेका छन् ।
“परराष्ट्रको यो सुझबुझयुक्त निर्णयले एनआरएनएलाई बिभाजन र विग्रह भन्दा पनि एकता र सही मार्गमा ल्याउन मद्दत गरेको छ”, एनआरएनए आइसीसीका सल्लाहकार विश्व आदर्श पण्डितले नेपाल मामिलााई बताए ।
एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रो पटक स्थगित गरिदिएको हो । सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो । महाधिवेशन प्रतिनिधिहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।
परराष्ट्रले हाल पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्को वैद्यतामाथि पनि प्रश्न उठाउँदै तीन बुंदे निर्देशन दिएको छ ।
अर्को निर्देशनमा निर्वाचन गराउने जिम्मा घलेलाई दिइएको छ । ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदबाट मात्र गर्नु, गराउनु ।’