काठमाडौं । सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो । जसमध्ये प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो ।
उनिहरुलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाइसकिएको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन् । प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री खापुङ प्रदेश प्रमुख भएका छन् । उनी पहिले बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्तिका नेता थिए । त्यसैगरी कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ । उनी नेकपा माओवादी केन्द्रनिकट हुन् । साथै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए ।
स्रोतका अनुसार नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी रहेको छ ।
