हेटौँडा : बागमती प्रदेशमा नयाँ सरकार गठन (मुख्यमन्त्री) का लागि गठबन्धन बहुमतको साथ प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धन सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।
मुख्यमन्त्री दाबीका लागि ५९ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरेको बताइएको छ। हस्ताक्षर गर्नेहरूमा माओवादीका २३, काङ्ग्रेसका २२, नेकपा एसका १३ र जसपा १ सदस्य छन्।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थियो। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका थिए।