November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

देउवा सरकार सय दिनमै असफल : एमाले नेता नेम्बाङ

1.7K

इलाम : नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सय दिनको अवधिमै असफल भइसकेको बताएका छन् ।

उनले देउवा सरकार परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पूर्णता दिए पनि विस्तारित मन्त्रिपरिषद्‍ ३ दिनसम्म पनि नटिकेको आरोप लगाए ।

एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै भूमि आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना खारेज गरेर देउवा सरकारले जनविरोधी काम गरेको आरोप नेम्बाङले लगाए । उनले वर्तमान सरकार जनादेशबाट नआएको भन्दै विश्वकै इतिहासमा सर्वोच्च अदालतको आदेशमा नेपालमा सरकार बनेकोमा सर्वोच्चको भूमिकामाथि आफूले केही भनिरहनु नपर्ने बताए ।

Advertisement

जनताले एमालेलाई झ्याल र भेन्टिलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मूल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा पनि नेम्बाङले गरे। इलाम क्षेत्र निर्वाचन क्षेत्र २ का सांसदसमेत रहेका उनले इलामको कर्णाली भनेर चिनिने आफ्नो क्षेत्रमा विकासले उज्यालो बनाएको दाबी गरे।

‘पार्टी व्यवसाय होइन, सामाजिक सेवाको क्षेत्र हो। त्यसैले व्यक्तिभन्दा पार्टी ठूलो हो र पार्टीभन्दा देश ठूलो भएकाले देश विकासका पक्षमा एमाले कार्यकर्ता लाग्नु पर्छ,’ उनले भने।