April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

महासंघ पदाधिकारीसँग प्रधानमन्त्रीले भने–अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्नुस्

2.2K

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न सुझाव दिएका छन्।

महासंघका नवनिर्वाचित पदाधिकारीसँग बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले यस्तो सुझाव दिएका हुन् । ओलीले ३ वर्षसम्म वरिष्ठ उपाध्यक्ष हुँदा नराम्रो काम गरे पनि स्वतः अध्यक्ष हुने व्यवस्थाका कारण नराम्रो व्यक्ति महासंघको नेतृत्वमा पुग्ने हुँदा विधान संशोधन गरेर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्न सुझाव दिएको महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

प्रधानमन्त्रीले निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन एकै ठाउँमा बसेर अगाडि बढ्दा उपलब्धी हुने हुँदा सिएनआईसँग मर्ज गर्न सुझाव दिए। यो कठिन परिस्थितिमा फुटेर भन्दा जुटेर अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले दोहोर्‍याए। उनले निजी क्षेत्रलाई एकताबद्ध बनाएर लैजान महासंघका पदाधिकारीलाई सुझाए। भेटमा प्रधानमन्त्रीले निजी क्षेत्र र सरकार सँगै अगाडि मिलेर अगाडि बढदा मात्रै कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई सहज रुपमा अवतरण गर्न सकिने सुझाव दिए।

Advertisement

सरकारले व्यवसायीले नीतिगत विषयमा परेको समस्या पनि समाधान गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले राज्यको क्षमता कम भएको र सरकारले ल्याएको राहत प्याकेजभित्र रहेर आर्थिक गतिविधि बढाउन सरकार तयार रहेको बताएका थिए । 

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थिति थियो।