टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सोमबार भएको संसदको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको किशिदाले अनुमोदनपछि थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गरेका छन् । केही महत्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् भने पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ ।
त्यसैगरी मन्त्रिपरिदमा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन् जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए ।
हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन् ।
नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् ।