धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ। समाजवादी संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।
समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले प्रदेश सरकारलाई समर्थन गर्ने बताइन्। यस्तै समाजवादी पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनेसमेत उनले बताएकी छन्।
सुुदूरपश्चिममा अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकार छ। माओवादी केन्द्रबाट सरकारको नेतृत्व त्रिलोचन भट्टले गरिरहेका छन्। प्रदेशमा तत्कालीन समयमा नेकपा एमाले ठूलो दल रहे पनि विभाजनपछि एमाले चौथोमा खुम्चिएको छ। एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) ले मात्र सर्मथन गरेमा पनि सुदूरपश्चिम सरकारलाई बहुमत पुग्छ।
प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो। यससँगै माओवादी सरकार जोगिने भएपछि मुख्यमन्त्री भट्ट ढुक्क देखिएका छन्।
गत २५ जेठमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा एमालेका माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो।
केन्द्र र कतिपय प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने त्यस्तो नहुने नेताहरू बताउँछन्। कांग्रेस तत्काल सरकारमा सहभागी नहुने बताइएको छ भने जसपा पनि तटस्थ छ। तर, समाजवादीले भने सरकारमा सहभागी हुने जनाएको छ।