April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

केसी नेतृत्वको लुम्बिनी सरकारको पहिलो बैठकले गर्‍यो आठ निर्णय

3.4K

काठमाडौं : मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै साँझ बसेको बैठकले मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय बैठकले गरेको छ।

Advertisement

बैठकले कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासीलाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने पनि निर्णय गरेको छ।

यस्तै, प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोकिएको छ भने मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय पनि गरेको छ। केसीले बिहीबार नै सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।