काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन र संसदमा हंगामा गर्ने बताएका छन्। पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्।
‘दसैंपछि देशव्यापी आन्दोलन गर्छौँ। संसद बोलाउन लगाएरै छोड्ने छौँ। जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई बाध्य पार्छौँ,’ प्रतिवेदन बुझ्दे सभापति देउवाले भने। सरकारले कोरोना नियन्त्रण गर्न नसकेको जनाउँदै देउवाले देशव्यापी आन्दोलन र संसदमा हंगामा मच्चाउने उद्घोष गरेका हुन्।
सरकारलाई गलाउन संसदमा हंगामा गर्ने उनको भनाइ छ। सडक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन पनि उनले निर्देशन दिए।
सरकारले ‘नागरिक मरे मरुन्’को व्यवहार देखाएको उनले आरोप लगाए। जनताको स्वास्थ्य महत्वपूर्ण भएपनि सरकार त्यसलाई महत्व नदिएर भ्रष्टाचारमा लागेको बताए। उनले भने, ‘स्वास्थ्यमा खेलवाड गर्दै भ्रष्टचार गरिएको छ। यति भ्रष्टचार मैले कैले सुनेकै थिइनँ।’
अक्सिजनको व्यवस्था, आइसोलेसन र क्वारेन्टाइन बनाउने सरकारको दायित्व भएपनि सरकारले चासै नदिएको उनको आरोप छ। सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काम खुब चासोका साथ गरेको देउवाको भना छ।