काठमाडाैं- नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट सभापतिमा दाबी गरेका संस्थापन (सभापति शेरबहादुर देउवापक्ष) इतरका नेताहरुबीच संस्थापनइतरबाट सभापतिमा एकजना मात्र उम्मेदवार दिने सहमति भएको छ।
शुक्रबार काठमाडौंमा भएको उनीहरुको बैठकले यस्तो सहमति गरेको हो। एकल उम्मेदवारी दिने सहमति भए पनि उम्मेदवारको नाममा भने सहमति जुट्न सकेको छैन।
बैठकपछि सभापतिमा उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता शेखर कोइरालाले एउटा उम्मेदवार दिइने बताए।
‘निचोड निस्किइसकेको छैन, तर हामी एउटा उम्मेदवार दिन्छौं। हामी एक ठाउँमा छौं। बैठक सकरात्मक छ। एउटै उम्मेदवार दिनेमा दुविधा छैन,’ उनले भने, ‘आज म पछि हट्छु भनेर कसैले भन्नुभएको छैन। को बन्ने भन्नेमा सहमति बन्न सकेको छैन। एउटा उम्मेदवार दिन्छौं भन्नेचाहिँ सहमति हो।’
त्यसैगरी सभापतिमै उम्मेदवारी दिने बताएका नेता प्रकाशमान सिंहले साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको र एउटालाई अरूले छोडने विषयमा पनि छलफल भएको बताए।
‘उम्मेदवारी दाबी गर्नेहरुबीच एक अर्कामा वान टु वान संवाद पनि गर्छौं। यताबाट साझा उम्मेदवार दिने कुरामा सहमति छ’, उनले भने।
नेता अर्जुननरसिंह केसीको पहलमा भएको बैठकमा सभापतिको दाबी गर्ने संस्थापनइतरका नेताहरु सहभागी थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, डा रामशरण महत, सुजाता कोइरालालगायत बैठकमा सहभागी थिए।