लण्डन – गैर आवासीय नेपाली संघ, (एनआरएनए) यूकेको आसन्न निर्वाचनका लागि गठित निर्वाचन समिति एकपक्षीय रहेको र समितिमा विवादित व्यक्तिहरुलाई राखिएको भन्दै समावेशी समूहले उक्त समिति स्वीकार गर्न नसकिने बताएको छ ।
कार्य समितिले दिएको क्षेत्राधिकार भन्दा बाहिर गई निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले विवादित र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरुलाई समावेश गरी समितिलाई पूर्णता दिएको तथा क्षेत्राधिकार र विधानमा नै नभएको सल्लाहकार समिति बनाइएको भन्दै सो समूहले आपत्ति जनाएको छ ।
३१ जुलाईमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अन्य दुई समूहका प्रतिनिधिहरुलाई निर्वाचन समितिमा मनोनयन गरिएको समूहको दाबी छ । समितिका संयोजक कँडेलले समावेशी समूहका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरका तर्फबाट पनि समितिमा सदस्य राख्ने बताएको तर, पछि प्रतिस्पर्धी अन्य दुई जना उम्मेदवारका प्रतिनिधिलाई समितिमा राखी आफ्नो समूहलाई बाइपास गरिएको समूहले जनाएको छ ।
निर्वाचन समिति गठनप्रति असहमति जनाउँदै मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा समावेशी समूहका तर्फबाट चुनावी अभियान प्रमुख शेरबहादुर सुनारले उम्मेदवारी घोषणा गरेका कुनै एक पक्षलाई जिताउने योजनाका साथ गठन गरिएको निर्वाचन समिति मान्य नहुने बताए । ‘समिति गठनमा देखिएको चलखेल र समितिमा मनोनयन गरिएका व्यक्तिहरुलाई हेर्दा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने देखिन्न’ पत्रकार सम्मेलनमा सुनारले भने, ‘निष्पक्ष निर्वाचनका लागि तत्काल निर्वाचन समिति पुनरावलोकन हुनुपर्छ।’
समावेशी समूहका अभियान प्रमुख सुनारले निर्वाचन समिति संयोजक कँडेलले उम्मेदवारहरुको प्रचार प्रसारमा खटिएका र एउटा राजनीतिक समूहमा संगठित भएका कार्यकर्ताहरुलाई राखेर समिति निर्माण गरेको स्पष्ट पारे ।
समावेशी समूहले भने जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचन समिति निष्पक्ष तथा स्वतन्त्र निर्वाचन सम्पन्न गर्न भन्दा पनि कुनै खास ब्यक्ति वा राजनीतिक समूह वा समूहका ब्यक्तिहरुलाई मात्र जिताउने कुटिल चालबाजीको एक हिस्साको रुपमा गठन भएको स्पष्ट देखिन्छ । यस्तो कार्यले बेलायतस्थित नेपाली समाज थप विभाजित हुने तथा संस्थाको साख र वैधानिकतामा समेत प्रश्न आउने हुंदा यो निर्वाचन समितिलाई हामी अस्वीकार गर्दछौं ।’
समूहले निर्वाचन समिति गठनमा देखिएको अवैधानिक, असंगत, अस्वस्थ प्रकृयालाई तुरुन्त पुनरावलोकन गरी सर्वस्वीकार्य निर्वाचन समिति गठन गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा एनसीसी यूकेका उपाध्यक्ष नारायण कँडेलले कार्यसमितिले दिएको क्षेत्राधिकार बाहिर गई निर्वाचन समिति संयोजकले काम गरेको बताए । ‘सबैलाई चित्त बुझ्ने गरी पाँच सदस्यीय निर्वाचन समिति गत शनिबार ( ३ जुलाई २०२१) भित्र बनाउन भनिएको हो, तर, संयोजकले दिइएको समय भन्दा दुई दिनपछि मात्रै समिति गठन गर्नुभयो।’ कँडेलले थपे ‘त्यस्तै कार्य समिति को म्यान्डेट भन्दा बाहिर गएर सल्लाहकार समिति गठन गर्ने अधिकार उहाँलाई छैन, उहाँ अन्यत्रैबाट निर्देशित हुनुहुन्छ ।”
उपाध्यक्ष कँडेलले सदस्यता आवेदनदेखि नै धाँधली गर्ने क्रम शुरु भएको र अहिले त्यसलाई तीव्रता दिइएको बताए । ‘प्रेम गाहा मगरका समर्थकले व्यापक रुपमा सदस्यता आवेदन गरेपछि आत्तिएका उनीहरुले अब निर्वाचनमा धाँधली गर्ने षड्यन्त्र गरेका हुन्’ कँडेलले भने । संस्थालाई आफ्नो स्वार्थ अनुसार चलाउन खोज्नेहरुले एकपछि अर्को षड्यन्त्र गरिरहेको उनको भनाइ थियो ।
त्यस्तै, समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले निर्वाचनमा पराजित हुने डरले एकपक्षीय रुपमा निर्वाचन समिति गठन गरी चुनावमा धाँधली गर्ने तयारी शुरु भएको बताए ।
संस्थागत सुधारका लागि आफूहरु वर्षौंसम्म संघर्ष गर्न तयार रहेको बताउँदै गाहा मगरले भने, ‘हाम्रो लडाईं केबल दुई वर्षका लागि मात्रै होइन, संस्थाको पैसामा हालीमुहाली गर्नेहरुलाई पराजित नगरेसम्म हाम्रो संघर्ष जारी रहन्छ।’
जुममार्फत भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनको सहजीकरण अभियानका सदस्यसचिव एवम् मगर संघ, यूकेका महासचिव रुद्र थापाले गरेका थिए भने एनसीसी यूकेका उपाध्यक्ष सुनीलबाबु खड्काले सहभागी पत्रकारहरुलाई स्वागत गरेका थिए ।
केन्द्र र क्षेत्रीय संयोजक समक्ष उजुरी
यसैबीच, एनसीसी यूकेका पाँच उपाध्यक्षहरुले निर्वाचन समिति गठन प्रक्रिया र समितिमा मनोनित सदस्यहरुप्रति असहमति जनाउँदै गैर आवासीय नेपाली संघ, यूरोप क्षेत्रीय संयोजक नारायण आचार्य र अन्तर्राष्ट्रिय समिति (आइसीसी) समक्ष उजुरी गरेका छन् ।
उपाध्यक्षहरु सुनीलबाबु खड्का, रामचन्द्र पोखरेल, प्रेम गाहा मगर, मोहन कार्की र नारायण कँडेलले यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यलाई एक पत्र लेखी निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलका गतिविधि र उनले समितिमा गरेको मनोनयनबाट निष्पक्ष निर्वाचन हुनेमा आशंका बढेको भन्दै उजुरी गरेका हुन् ।
उपाध्यक्षहरुले तत्काल निर्वाचन समिति परिमार्जन हुनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले आइसीसी अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मालाई पनि छुट्टै उजुरी पत्र पठाएका छन् ।
त्यसअघि उपाध्यक्षहरुले एनसीसी यूकेकी अध्यक्ष पुनम गुरुङलाई एक पत्र लेख्दै तत्काल निर्वाचन समिति पुनरावलोकन गर्न माग गरेका थिए ।
एनसीसी यूकेको नयाँ कार्य समिति चयनका लागि ३१ जुलाईमा निर्वाचन हुँदै छ । गत मार्चमा नै कार्य समितिले महेन्द्र कँडेललाई निर्वाचन समिति संयोजकमा नियुक्त गरेको थियो । तीन महिना सम्म समिति विस्तार नगरेका संयोजक कँडेलले निर्वाचन प्रक्रिया शुरु हुनु केही दिनअघि मात्रै सदस्यसचिव सहित चार सदस्य मनोनयन गरेपछि विवाद बढेको हो ।
कँडेलले समितिको सदस्य सचिवमा कर्ण शाहीलाई नियुक्त गरेका छन् भने सदस्यहरुमा सुवा सिं गुरुङ, सोलिसिटर राजु थापा र पशुपति पोखरेललाई नियुक्त गरेका छन् । संयोजक कँडेलले नियुक्त गरेका शाही र पोखरेल नेकपा एमालेको ओली समूहसँग आवद्ध राजनीतिक कार्यकर्ताहरु हुन्।
समावेशी समूहले जारी गरेको प्रेस वक्तव्य
आदरणीय पत्रकार मित्रहरु, नमस्कार !
एउटा संस्थाको जीवनमा चुनाव भनेको एउटा हर्ष र उत्साहको अवसरको रुपमा हेरिन्छ। कोभिड महामारीको बीचमा पनि ११ हजार भन्दा बढी बेलायतवासी नेपालीहरुले युकेस्थित सबै नेपालीहरुको साझा संस्था, गैर आवासीय नेपाली संघ, को सदस्यता लिएर यो संस्था प्रति आफ्नो आत्मियता देखा उनु भएको छ। स्वतन्त्र, निस्पक्ष र धाधली रहित चुनाव द्वारा आगामी २ वर्षको लागि नयाँ कार्य समिति चुन्न पाउने उहाँहरुको अधिकार हो। तर बेलायत जस्तो संसदीय प्रजतन्त्रको जननी मानिने मुलुकमा बसेर आम जनसमुदाय को अभिमतमाथि खेलवाड गर्न खोज्ने षड्यन्त्र एस पटक पनि दोहोराउन खोजिएका संकेतहरु देखिएका छन् । त्यसैले आज हामी तपाईंहरु सामु उपस्थित भएका छौं।
गैर आवासीय नेपाली संघ युकेको आउंदो जुलाइ ३१ तारिखमा हुने एनआरएनए युकेको निर्वाचन गराउन गठित निर्वाचन समिती अवैधानिक, विवादास्पद र एकपक्षीय भएको र यस्तो निर्वाचन समितीले निर्वाचन गराउंदा निर्वाचनको निष्पक्षतामाथि नै आशंका उत्पन्न हुने हुंदा निर्वाचन समिती गठन प्रकृयालाई पुनरावलोकन गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन समिती गठन गर्नका लागि हामी माग गर्दछौं ।