गैर-आवासीय नेपाली संघ यूकेका आगामी कार्यकालका लागि महासचिव पदका प्रत्यासी खुशी लिम्बूसँग रेडियो हिमालयले यूकेमा हुन लागेको एनआरएनए निर्वाचनमा केन्द्रित रहेर गरिएको कुराकानिको संंक्षिप्त अन्तरवार्ता ।
नमस्कार खुशी जि आरामै हुनुहुन्छ ?
नमस्कार, बिलकुल आरामै छु, तपाईहरुको शुभेच्छाले ।
एनआरएनए महासचिवमा उम्मेदवारी दिनुभएको छ, महासचिव आफैमा संवेदनशील पद हो । महासचिव कस्तो छ भन्ने कुराले संगठन कस्तो छ भन्ने कुरा देखिन्छ बुझिन्छ, धेरै संस्थाहरुमा महासचिव हुनु र एनआरएनएमा महासचिव हुनुमा अलि फरक पनि हुन्छ होला ?
म एनआरएनए यूकेको साधारण सदस्य संस्थापनकाल देखि नै हो । २००५ सालमा र २००५ साल देखि २०१५ सालसम्म म बाहिर हेरेर रमिते भएर बसे । एनआरएनएमा धेरै कुरा आएपछि भित्रै बसेर काम गरौँ न त, भएका कुराहरुलाई वा नबनेका कुराहरुलाई केही सच्याउन सकिन्छ कि भनेर यस अभियानमा सहभागी भएको हुँ । २०१५ सालमा मैले मेरो अध्ययन पुरा गरेपछि अलिकति समय थियो र म त्यो समय देखि लागेको हो । त्यतिबेला नै महासचिव हुने इच्छा थियो तर त्यतिखेर चुनाव नभएर सहमति भएको हुँदा मैले प्रवक्ता भएर काम गरें । महासचिव हुने इच्छा फेरि २०१७ सालको चुनावमा जाहेर गरें तर मैले चुनाव जित्न सकिन । गएको २०१९ सालको चुनावमा म उठिन । यो पाली चाँहि मेरो ६ वर्ष अगाडिको सपना पुरा गर्न सबै तिरको महासचिव पद छोडेर म एनआरएनए यूकेको महासचिव बन्न भनेर दोस्रो पटक चुनावमा उठ्दै छु । मेरो अनुभव, मेरो योगदान, मेरो समर्पण र समाजप्रतिको मेरो लगाव, मेरो सम्भावना हेरेर एनआरएनए यूकेको सदस्य, भोटर्सहरु, मिडियाकर्मी लगायत अग्रजहरु सबैले चान्स दिनुहुनेछ भन्ने लागेको छ ।
महासचिव भएर के के गर्ने यहाँको योजनाहरु छन् त?
म यूकेको महासचिव भएँ भने अध्यक्षको प्रत्यासीहरु तीन जना मध्ये जो जसले जिते पनि म महासचिव भएर उहाँहरुको सेवा गर्ने हो । म पहिला पनि एनआरएनए यूकेमा बसेर काम गरेको हुदाँ त्यहाँ के गर्न पर्ने के को कमी छ, कुन चाँहि कुरा सुधार्न जरुरी छ भन्ने कुरा मैले पनि बुझेको छु त्यसले गर्दा तत्कालीन, मध्यकालिन र दीर्घकालीन योजनाहरु बनाएर कार्य समितिमा पेश गरेर आफ्नो एजेण्डालाई साझा एजेण्डा बनाएर कार्यसमिति र अध्यक्षमा जसले जित्नुहुन्छ उहाँसँग बसेर नै काम गर्ने मेरो योजना छ ।
खुशी लिम्बू जहाँ गयो त्यहि भाडभैलोको वातावरण हुने गर्छ भन्ने आरोप आउने गर्छ त्यो संयोग हो अथवा तपाई जहाँ–जहाँ जानुहुन्छ त्यस्तै गर्नुहुन्छ ?
काम नै गरेन भने केही पनि हुदैँन । न भाँडभैलो हुन्छ न परिणाम आउँछ न काम हुन्छ । जसले काम गर्छ काम गर्ने प्रकृयामा गल्तिहरु हुन्छन् । दश जनासँग काम गरियो भने आठ जनाको चित्त बुझ्यो भने दुई जना अर्कोतिर फर्किने हुन्छन् त्यो काम गर्नेलाई नै थाहा हुन्छ । म चाँहि परिणाममुखी छु । त्यो चाँहि समाजले र म बसेको संघ संस्थाका साथीहरुले हेर्ने कुरा हो । जस्तो कि एनआरएनए यूकेमा धेरै प्रवक्ता आउनुभयो । सबै प्रवक्ताहरुप्रति मेरो सम्मान छ । आ–आफ्नो व्यक्तित्व र आ–आफ्नो योगदान छ । तर मैले एनआरएनए यूकेको कार्यकाल २०१५–२०१७ मा गरेको कामहरु हेर्नुहोला । उदाहरणका लागि ३५ लाखको त्यो सिरिसे स्कूल पुननिर्माण प्रोजेक्ट पास भयो । त्यो प्रोजेक्टले पाँचथरको एउटा गाउँमा मा.वि. बनेको छ । धेरै जना विद्यार्थीहरुको भविष्य बनेको छ । त्यो केही काम नगरी बसेको भए केही हुदैँन थियो होला । त्यसैगरी मैले च्यारिटी डिपार्टमेन्ट मै बसेर काम गरें । त्यसले पनि कतिको भविष्य बने होला, कतिको जिवनमा फरक पार्यो होला । २०१५–२०१७ मा म प्रवक्ता हुँदा प्रेस पब्लिकेशन विभागको पनि काम गरें । १३ वर्षमा पहिलो पटक मेरो नेतृत्वमा एनआरएन भ्वाइस नामक मुखपत्रको स्थापना गरें । त्यो अहिले पनि नियमित प्रकाशन भईरहेको छ । अहिले अरु पनि महासचिव हुनुहुन्छ उहाँहरुले भाडभैले गर्नुहुन्न किनभने भाँडभैलो गर्नका लागि त काम गर्नुपर्यो । यति हुँदाहुँदै पनि भाँडभैलो नगरी पनि कामहरु गर्न सक्नु पर्दर्छ भन्ने मैले धेरैबाट सुझाव पाएको छु । त्यसलाई भविष्यमा कार्यन्वयन गर्ने नै हो ।
पहिला–पहिला एनआरएनए निर्वाचनका लागि उम्मेदवार खोज्नुपथ्र्यो तर अहिले भने यति धेरै उम्मेदवार उभिनुभएको छ अब जति उम्मेदवारहरुले उम्मेदवारी सार्वजनिक गर्नुभएको छ यसलाई के भनेर बुझौँ ? नेपालीहरुलाई अलि बढि पद चाँहिदो रहेछ भनेर बुझौँ कि नेपालीहरु प्रदेशमा समाज सेवा गर्न सामाजिक कामहरुमा झन अग्रसर हुदैँछन है भन्ने तरिकाले बुझौँ ? तपाई चाँहि के बुझ्दै हुनुहुन्छ ?
तपाईंले भन्नु भएको कुरामा केही सत्यता छ । हुन त म पनि पहिले एकै चोटी ठुलै पद रोजेर एनआरएनए यूकेमा आएको हो । तर म एनआरएनए यूकेमा आउनुभन्दा अगाडि दुईवटा संस्थामा मैले महासचिव गरिसकेको थिएँ । दुई संस्थामा ६ बर्षसम्म महासचिव भएर काम गरेको मेरो अनुभव थियो । त्यसैले एकै पटक महासचिवमा आएको थिएँ ।
पञ्जिकृत सदस्यहरु जसले बढी बनायो उसैले नै अहिले चुनाव जित्ने सम्भावना छ भन्नुभयो यसको मतलब सदस्य भन्दा पनि भोटर्स पो बढी रैछन् हगि ?
अहिले सम्म एनआरएनएमा त्यहि छ, त्यसलाई चाँहि परिवर्तन गर्नुपर्ने छ । आफ्नो स्व–विवेकले जबसम्म पञ्जीकृत सदस्य बन्ने प्रणाली संस्थागत हुदैँन तबसम्म यो भोटको बेला बनाएको मेम्मरसिपले गर्ने यहि रहेछ । यसलाई सुधार गर्नुपर्ने छ । म महासचिवको रुपमा विजय भएर एनआरएनए यूकेमा गए भने मैले कार्यसमितिमा गर्नुपर्ने एउटा यो पनि हो ।
एकचोटी एनआरएनएमा सदस्य भैसके पछि सधैलाई सदस्य बनाउन सकिदैन र ?
आईसीसीमा यो कुरा चलिराखेको छ, हाम्रो केन्द्रीय अध्यक्ष कुमार पन्त र टीमले कुरा चलाईराख्नु भएको छ । यो आईसीसीमा बढी बहसको विषय बनेको छ । हेरौं केही होला ।
नेपालमा हुँदा जुन राजनैतिक पार्टीको समर्थनमा हुनुहुन्थ्यो विदेशमा गएर पनि नेपालको राजनैतिक भातृ संगठनहरु बनाउने त्यसलाई संगठित गर्ने चलन संस्थागत भैराखेको छ । त्यसको प्रभाव एनआरएनए जस्तो सामाजिक संस्थामा पर्यो । तपाईले पनि महासचिवमा उम्मेदवारी दिदैँ हुनुहुन्छ त्यसको प्रभाव परेको छ र ?
यसको प्रभाव विश्वभरका एनआरएनए र आईसीसीमा पनि परेको छ । यो नहुन पथ्र्यो तर भयो । नेपालको राजनैतिक दलको प्रभावमा परेर त्यो अहिले जुन हदमा छ यो हदमा पहिले थिएन । यो एनआरएनए यूकेमा त झनै छ । कुनै एउटा समुहले प्यानल नै जित्यो र जितेपछि बाँकी कार्यकाल पनि जो–जो हारे अरु पार्टीको हारे हार्नेहरु हारे उनिहरुलाई किनारामा राखेर आफुहरुले मनपरी गर्ने चलन बढेको छ । एनआरएनए यूकेमा पनि भएको थियो, भैरहेको छ होला । यो सुधार्नु पर्ने छ एकजनाले गरेर केहि नहुने रहेछ । वास्तवमा भन्नुपर्दा यो चाँहि समस्या नै हो ।
तपाईंहरुपनि कुनै न कुनै राजनीतिक पार्टीको आडमा लागेर उम्मेदवारी दिईएको भन्ने सुनिएको छ नि ?
होला तर खुशी लिम्बू त्यसमा पर्दैन । खुशी लिम्बू चाँहि राजनीतिक पार्टीको एउटा कार्यकर्ता भएर गाह्रो परेको छ । सिधा भन्नुपर्दा २०१९ सालको निर्वाचनमा म नउठ्नुको कारण म कुनै पार्टीको सदस्य कार्यकर्ता भएकाले गर्दा हो ।
एनआरएनए यूकेको अहिलेसम्म त्यहाँ स्थायी रुपमा एउटा सचिवालय बन्न सकेको छैन भन्ने सुनियो । यसरी अव्यवस्थित भएको चाँहि किन होला ? नचाहेर वा हुने नै यस्तै हो ?
एनआरएनएको एउटा नेपाल हाउस बनाउने भन्ने कुरा स्यालको कथा जस्तो भएको छ । पूर्व अध्यक्ष सुर्य गुरुङको पालामा जन्मेको अवधारणा हो । त्यसपछि पूर्व अध्यक्ष कुल आचार्यले पनि देख्नुभएको सपना हो । तर यसलाई पूरा गर्ने चान्स चाँहि म प्रवक्ता हुदाँ २०१५–२०१७ मा मुक्षेत्र गुरुङ्ग अध्यक्ष हुँदा धेरै कोसिस गरियो । आधाभन्दा धेरै हाम्रो समय र उर्जा नेपाल हाउस बनाउने भनेर गयो । त्यो हुन पनि लागेको थियो । तर गर्दा गर्दै चुनाव आयो । चुनावपछिको दुईवटा कार्यसमितिले त्यो गर्न सकेन । यदि म महासचिव भएर गएँ भने अध्यक्ष जसले जित्नुहुन्छ उहाँहरुलाई पहिला कुरा राख्छु । पहिलो बैठकमा यो विषय पेश गर्नेछु । त्यस्तै मुछेत्र गुरुङको कार्यकाल (२०१५–१७) मा भएको नेपाल हाउसको लागि उठको पैसा कहाँ गयो ? छ भने त्यसलाई किन निरन्तरता दिन सकिएन ? भनेर त्यसको खोजी गदैं आउने कार्यकालमा त्यसमा थपेर हामीले कम्यूनिटी नेपाल हाउस बनाएर नै छाड्ने हो । मैले सबै भन्दा पहिले कार्य समिति बैठकमा यहि एजेण्डा राख्ने छु । सानै भएपनि एउटा घर किन्ने हो यो तरिकाले सधैँ चल्दैन ।
परिणाम नभएर, परिणाम हुनुपर्छ आकर्षण भैहाल्छ । परिणाम ल्याउनु पर्यो परिणाम ल्याउनको लागि राम्रो मान्छे पठाउनु पर्यो ।
अन्तमा, तपाईसँगै अरु साथीहरुले पनि महासचिवमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । यति मध्येमा पनि तपाईलाई चाँहि किन छान्ने ? तपाईको दाबी के हो ?
मेरो उम्मेदवारी बलियो हुनुपर्ने आधारहरु भनेको महासचिवको रुपमा मैले विभिन्न संघ–संगठनहरुमा गरेर १२ वर्ष महासचिवकै रुपमा काम गरेको अनुभव छ । एनआरएनएको अभियानमा म पहिलेदेखि छु । यसको बारेमा थोरै धेरै बुझेको छु । २००५ देखि म एनआरएनए यूकेको सदस्य छु र २०१५ देखि म एनआरएनएमा निरन्तर छु । २०१५ देखि २०१७ सम्म म प्रवक्ता भएँ । प्रवक्ता मात्र नभई प्रवक्ताको जिम्मेवारी पनि पूरा गरे । टिमलाई पनि नेपाल हाउसका लागि पैसा उठाउनमा सघाएँ । च्यारिटी डिपार्टमेन्ट सम्हालें । एनआरएन भ्वाइस निकाल्ने देखि लिएर एनआरएनए यूकेको अनलाइन प्रणाली, डेटा प्रणाली र वेवसाइट सिस्टमलाई व्यवस्थित गर्ने कामहरु गरें । २०१७–२०१९ मा महासचिवमा चुनाव नजिते पनि म वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिको यूरोप संयोजक भएर काम गरे । म कहिं न कहि एनआरएनए अभियानमा छु । चुनाव जिते पनि हारे पनि यिनै कुराहरुले मलाई अलिकति राम्रो पोजिसनमा राख्छ र मेरो अग्रजहरुले मेरो सदस्य साथीहरुले एनआरएनएका अभियन्ताहरु र भोटर्सहरुले यीनै कुराहरुको आधारमा मलाई भोट दिएर जिताउनु हुन्छ भन्ने मेरो आशा छ ।