काठमाडौं– एमालेमा एकता प्रयासको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी भइरहेका बेला दुवैपक्षका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका छन्।
अहिले ललितपुरको कुपण्डोलस्थित होटल समिटमा दुवैपक्षका नेताहरुबीच छलफल चलिरहेको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि एकताका सबै सम्भावना सकिएको चर्चा हुनथालेको थियो। वरिष्ठ नेता माधवकुमार नेपालपक्षले त्यसको कुनै अर्थ नभएको भन्दै ओलीपक्षले गरेको निर्णय अवैध भएको टिप्पणी गरेको थियो।
शुक्रबारको बैठकअघि नेपालपक्षका वार्तामा रहेका केही नेताले दुई तीन दिन बैठक सार्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए। बरु, बैठकबाट गरेका निर्णयलाई वार्तामा सहभागी नेताहरुले नै वातावरण बिथोल्ने कदम भनेका थिए।
भोलिपल्टै नेताहरुले फेरि एमाले एकता जोगाउन सकिन्छ कि भनेर छलफल शुरु गरेका हुन्।
शनिबार दिउँसो १ बजेदेखि समिट होटलमा भइरहेको छलफलमा ओलीका पक्षबाट एमाले महासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वांग सहभागी छन्।
त्यसैगरी वरिष्ठ नेता नेपालपक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल छन्। अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै आफूहरुले छलफललाई निरन्तरता दिएको एक नेताले बताए।