April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजनामा जापान

3.6K

टोकियो– जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ।

जापानी संचारमाध्यमका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ।

प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गरेको थियो। प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो। 

Advertisement

जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन्। जापान अहिले पनि जैविक इन्धनमा ठूलो मात्रामा निर्भर रहेको छ। सरकारले भने जैविक इन्धनको विकल्पमा के कस्ता इन्धन प्रयोगमा ल्याइनेछ भन्ने विस्तृत कार्ययोजना सार्वजनिक गरिसकेको छैन। 

सरकारले सन् २०३० सम्ममा अतिन्यून कार्बन उत्सर्जन गर्ने कार (विद्युतीय र हाइब्रिड) को बिक्रीलाई ५०–७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। सन् २०१९ मा न्यूनकार्बन उत्सर्जन गर्ने कारको बिक्री ४० प्रतिशतको हाराहारीमा पुगेको छ।