November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा नेपाललाई खोप सहयोग रोकियो : नेता थापा

1.7K

लन्डन । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाएका छन् ।

शुक्रबार जूममार्फत आयोजित ‘कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन गर्दै थापाले भने, ‘गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।’

उनले अगाडि भने, ‘संसद् चलेको भए संसद्‌ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो । तर सरकारले त्यो अवसर पनि गुमायो ।’ पूर्वमन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । ‘अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो’, उनले भने, ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।’

Advertisement

आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ-फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको बताए । ‘प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ’, उनले जिकिर गरे ।

उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गरे । ‘महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिनपछि नेपालमा कोरोना ‘केस’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’, उनले भने ।

थापाले आउँदो एक-डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै तर त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने जनाए । ‘नेपालको राजस्व कर्मचारीको तलब, भत्ता दिनमात्रै पुग्छ, विकास निर्माणको काम गर्न ऋण लिनु पर्ने अवस्था छ। त्यसैले नेपालभित्रै लाखौं रोजगारी कसरी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्नेतर्फ अहिलेदेखि नै तयारी गर्न जरुरी छ’, उनले भने । उनले नेपाली कांग्रेसभित्र ‘विधानको शासन’ आवश्यक रहेकोमा पनि जोड दिए ।