November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले साउन १२ देखि तल्लो तहका अधिवेशन गर्ने

4.1K

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

​यसअघि कांग्रेसको अघिल्लो हप्ता सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको बैठकले केही परिमार्जन गरि साउन १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा पनि केहि परिमार्जन गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने जनाइएको छ।

Advertisement

यस्तै क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यता छानबिनको काम नसकिएर महाधिवेशन नरोकिने दाबी गरेको छ। समितिका संयोजक रमेश लेखकले १४ औं महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यतामाथि उजुरी पर्ने क्रम जारी रहेको भन्दै भोलिबाटै उजुरी केलाएर हेर्ने काम सुरु हुने बताए।

 ‘६ गतेसम्म उजुरी गर्न पाउने समयसीमा तोकेका छौं। अहिले उजुरी पर्ने क्रम जारी छ। हामी भोलिबाटै उजुरी केलाएर हेर्ने र निष्कर्षमा पुग्ने काम थाल्नेछौं,’ लेखकले भने। 

उनले हालसम्म करिब ८ लाख सदस्यता प्रस्तावित भएको बताए। त्यसमध्ये आधा नयाँ सदस्य छन्। १६५ निर्वाचन क्षेत्रमध्ये १४९ ठाँउको प्रस्तावित नामावली सार्वजनिक भइसकेको उनको भनाइ छ।