काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ मा कांग्रेसलाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टी (जसपा) समक्ष प्रस्ताव गरेका छन्।
उपसभापति निधिलाई भेट्न शुक्रबार उनको निवास पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष उनले यस्तो प्रस्ताव गरेका हुन्।
जसपामा विवाद चुलिएसँगै प्रदेश २ मा सरकार परिवर्तनको चर्चा सुरू भएको बेला अध्यक्ष यादवले कांग्रेस उपसभापति निधिलाई भेटेका हुन्।
यादवले प्रदेश सरकारमा कांग्रेसलाई सहभागी हुन आग्रह गरेपछि निधिले आफ्नो पार्टीलाई मुख्यमन्त्री दिनुपर्ने अडान राखेको बताइएको छ।
‘उपसभापतिजीले केन्द्रको समीकरण यथावत राख्दै प्रदेश संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव राख्नुभएको छ,’ निधि निकट स्रोतले भन्यो।
जवाफमा जसपा अध्यक्ष यादवले शनिबार जनकपुर गइरहेको र उताबाट फर्किएपछि यस विषयमा फेरि छलफल गर्ने बताए।
‘भोलि जनकपुर जाँदै छु, पर्सी फर्किएपछि यस विषयमा पुनः छलफल गर्ने उपेन्द्रजीले भन्नु भएको छ,’ स्रोतले बतायो।
बिहान १०:४० बजेदेखि दुई जनाबीच सुरू भएको कुराकानी पौने दुई घण्टासम्म चलेको थियो।
दुई नेताबीचको छलफलमा राष्ट्रिय राजनीतिका साथै प्रदेश नामकरणका विषयमासमेत कुराकानी भएको छ।
प्रदेश २ मा यादव नेतृत्वको पूर्वसमाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, नेपाली कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८, संघीय समाजवादी पार्टीका एकजना प्रदेश सांसद छन्।
पूर्वराजपाका २५ मध्ये सामाजिक विकास मन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय पछिल्लो समय कित्ता परिवर्तन गरेर उपेन्द्रतिर लागेका छन्।
यसैगरी एमालेका २१ मध्ये १३ जना नेपाल–खनाल समूहका छन् भने अध्यक्ष केपी ओली पक्षका आठजना प्रदेश सांसद छन्।