November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थानीय तहको सामूहिक प्रयासमा कोभिड अस्पताल सञ्चालन

2K

महाेत्तरी– कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका  पाँच स्थानीय तहको संयुक्त प्रयासमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ। रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको सहयाेगमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो।

निवर्तमान सांसद सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका एवं सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल सञ्चालन गरिएको हो।अस्पतालको बिहीबार प्रदेश नं २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरे।

नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट तीन किलोमिटर दूरीभित्र यो अस्पताल सञ्चालन गरिएको छ। जिल्लाको सुदूरपश्चिम दक्षिणी क्षेत्रमा पहिलोपटक कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार गरिने आधुनिक सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले अब आफ्नै ठाउँमा उपचार पाउने भएका छन्।

Advertisement

अस्पताल सञ्चालनका लागि निवर्तमान सांसद यादवको संसदीय विकास कोषको रकम र पाँच स्थानीय तहले संयुक्तरूपमा रकमको जोहो मिलाएका हुन्। अस्पतालमा अत्याधुनिक शय्या, अक्सिजन सुविधासहितको उपचार र बिरामीको भोजनसहितको प्रबन्ध रहेको छ ।

१५ स्थानीय तह रहेका जिल्लामा यसअघि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल (जलेश्वर अस्पताल), बर्दिबासस्थित बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा समेत तीन ठाउँ कोभिड–१९ अस्पताल सञ्चालनमा  छन्।