काठमाडौं– फ्रान्स सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ। बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन्।
कोभिड संकटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सियस जेभियर लेगरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।
यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पठाएको चिकित्सा सहयोग सामग्री पनि बुधबारै नेपाल आइपुगेको छ। विशेष विमानबाट ल्याइएको ती सामग्रीमा भेन्टिलेटर, चिकित्सा ट्रली, मास्क, मेडिकल गाउन, गगल्सलगायत छन्।
केही दिनअघि नेपाल र यूएईका विदेशमन्त्रीबीच भएको वार्ताका क्रममा प्रतिबद्धता अनुसार यूएई सरकारले सहयोग सामग्री नेपाल पठाएको हो । ती स्वास्थ्य सामग्री बुधबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।