नयाँदिल्ली–भारतको केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ। नयाँ कृषि कानुनको विरोधमा दिल्लीको सीमामा धर्नामा बसेका किसानहरुलाई निर्धारित मितिभन्दा ३ दिनअघि नै वार्तामा बोलाइएको हो।
यसअघि ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज मंगलबार नै वार्तामा बोलाइएको छ। केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय दिएका छन्।
कृषि मन्त्रालयले किसानका ३२ संगठन र तिनका नेताहरुलाई वार्ताका लागि नयाँदिल्लीस्थित विज्ञान भवनमा बोलाएको छ। वार्तामा जानुअघि किसान युनियनका नेताहरुले बिहान ८ बजे बैठक गर्दैछन्।
किसानहरुले आफ्ना माग पूरा नभएसम्म नफर्कने बताएका छन्। प्रदर्शनकारीहरुले दिल्लीका ५ प्रवेशविन्दू बन्द गर्ने चेतावनी दिएका छन्।