दाङ : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सांसदबाट हटाएका लुम्बिनी प्रदेशका चार जना मन्त्रीले पनि राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।
मतदान सुरू हुनु भन्दा करिब १६ घण्टाअघि निर्वाचन आयोगले उनीहरुलाई मतदानको अधिकार दिने निर्णय गरेको हो। यस अघि निर्वाचन कार्यालयले उपनिर्वाचनमा ७९ जना प्रदेशसभा सदस्यले मात्र मतदान गर्ने भनेर नामावली सार्वजनिक गरेको थियो। यसअघि पार्टीको कारबाहीको आधारमा आइतबार दिउँसो सम्म उनीहरुलाई मताधिकार प्रदान गरिएको थिएन।
जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजय बहादुर यादवले पनि मताधिकार पाएको जानकारी दिए। उनीहरुलाई पूरक मतदानको अधिकार दिइएको हो।
त्यसअघि भने पार्टीले कारबाही गरेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भनिएको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्। उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए। पदमुक्त गर्ने निर्णयविरुद्ध उनीहरुले सर्वोच्चमा मुद्दा हालेका थिए।
सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यस्तै उपनिर्वाचनमा प्रदेशभरका २१७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी भएको छ।
लुम्बिनी प्रदेशको दाङको घोराहीमा सोमबार बिहान ९ बजे देखि हुने उपनिर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। उपनिर्वाचनमा कोभिड पोजेटिभको लागि छुट्टै मतदान स्थल बनाइएको समेत उनले बताए। मतदानका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्र बनाइएको छ।
उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी परेको छ।