बैतडी – जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा आउने भनेको आइसियु बेड र भेन्टिलेटर अझै जडान हुन सकेको छैन। केही दिनअघि आइसियु बेड यहाँ ल्याइएको थियो।
भेन्टिलेटर भने अझै आइनपुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। ‘भेन्टिलेटर केही दिनमै पुग्ने र त्यसपछि जडानको काम हुनेछ,’ उनले भने, ‘आइसियु बेड र भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति पनि नभएकोले केही ढिलाइ भएको हो।’
भेन्टलेटर सञ्चालन भए भर्ना भएका बिरामीले २४ सै घण्टा अक्सिजन पाउनेछन्।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा ल्याइएको र ल्याइने यी उपकरण सञ्चालनमा नआउँदा कोरोनाका जटिल बिरामीलाई समस्या हुने गरेको छ। आइसियु तथा भेन्टिलेटर बेड सञ्चालनमा नआउँदा बैतडीमै उपचार सम्भव भएका बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता छ। बैतडीमा हालसम्म ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ।