November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

5.6K

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दैछ। मंगलबार बोलाइएको बैठकमा माधव–झलनाथ समूहको एक मत हुन नसकेपछि दुईपटक बैठक स्थगित गरिएको थियो।

मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए। मंगलबार बिहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिएका थिए। यस्तै, १२ बजेका लागि पुनः बोलाइए पनि बैठक बस्न सकेन।

बुधबार बिहान‌ पुनः सांसदहरूलाई दलको कार्यालय बोलाइएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताए।

Advertisement

मंगलबार माधव–झलनाथ समूहका सांसदहरूलाई मात्रै खबर गरिएको थियो। बुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर गरिएको छ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा माधव–झलनाथ पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन्।

एमालेको स्थायी कमिटीको बैठकले गत सोमबार नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन दिएको छ। 

स्थायी कमिटीको बैठकपछि बस्न लागेको आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। स्थायी कमिटीले सरकारका समर्थन फिर्ता लिने निर्णय गरे पनि एमाले प्रदेश संसदीय दलको बैठकले यस सरकारलाई निरन्तरता दिने सम्भावना छ।

भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको माधव–झलनाथ समूहकै केही नेताहरू बताउँछन्। सोही समूहका केही सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा पक्षमा छन्।

‘दलमा बहुमत सदस्यहरू माधव–झलनाथ समूहका छन्। त्यसैले स्थायी कमिटीको निर्देशन पालना नहुन सक्छ,’ एक सांसदले भने, ‘आजको बैठकमा सरकारबाट फिर्ता हुने निर्णय नहुन सक्छ।’

अहिलेसम्म दलको बैठकको एजेण्डाबारे सांसदहरूलाई जानकारी नगराइएको बताउँदै सांसदहरूले भने यही सरकारलाई अझै बलियो बनाउने विषयमा बैठकमा छलफल हुने बताए। हाल सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार छ। माओवादीका तर्फबाट मुख्यमन्त्रीसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले तीन मन्त्री सरकारमा छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन्। शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन्।