April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

4.2K

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए । ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए ।

Advertisement

‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने । यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् ।

राजधानी दैनिक