काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता हुँदैछ।
उनीहरूबीच दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता हुने एमाले नेता सुवास नेम्वाङले बताए। दुई नेताको भेटपछि एमालेभित्रको विवाद समाधानका लागि बनाउने भनिएको कार्यदलको पनि टुंगो लाग्ने सम्भावना छ।
यसअघि गएको बिहीबार पनि ओली र नेपालले एक्लाएक्दै भेटेका थिए। त्यसको भोलिपल्ट दुई पक्षका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो।
नेपाल पक्षले एमालेलाई २ जेठ २०७५ को विन्दुबाट अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ। यसमा प्रधानमन्त्री समेत रहेका ओली सकारात्मक रहेको बताइएको छ।
तर, शुक्रबारको छलफलमा हालै एमाले भित्रिएका गृहमन्त्री रामबहादुर थापालाई पनि ओलीले आफ्नो समूहबाट सहभागी गराएपछि नेपाल पक्ष सशंकित बनेको छ।
शनिबार नेपालले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। उनीनिकट केन्द्रीय सदस्यले एमाले विवाद समाधान कार्यदलमा पूर्वमाओवादी नेता बादल पक्षलाई नराख्न सुझाव दिएका थिए।
थापालाई ओलीले राख्न खोज्नु एमाले एकता नचाहेको र अफूहरूलाई पाखा लगाउन खोजिएको रुपमा बुझ्न आग्रह गरेका थिए। नेपालको ६ बुँदे मागमा टेकेर ओलीसँग वार्ता गर्न केन्द्रीय सदस्यले सुझाएका थिए।
नेपाल पक्षले सम्पूर्ण पार्टी कमिटी २ जेठ २०७५ मा फर्काउनुपर्ने र गत फागुन २८ गतेपछिका निर्णय फिर्ता लिन आग्रह गरेको छ।