April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

पशुपति घिमिरेको ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण

२०८२ फाल्गुन २५

550

काठमाडौं । लेखक पशुपति घिमिरेको नविनतम नियात्रा कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक गरिएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई, विशेष अतिथि विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ, लेखक-पशुपति घिमिरे,प्रकाशक – पुष्पराज पौडेल,निबन्धकार कुमारी लामा र कवि प्रह्लाद पोखरेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पुस्तकको विषयवस्तु,भाषा शैली बारे समीक्षक राजकुमार बानियाँले आफ्नो धारणा राखेका थिए । ‘हवाईजहाज नचढी, टिकट भिसा केही नगरी यो पुस्तकले पाठकलाई विभिन्न ठाउँ घुमाउनेछ’, बानियाँले भने ,’यो पुस्तक इतिहास,भाषा,संस्कृति र मानवीय संवेदनाले भरिपूर्ण छ।

Advertisement

प्रमुख अतिथि प्राडा भट्टराईले नियात्रा लेखनको क्षेत्रमा तीन महादेशका केही तरङ्ग एक उल्लेखनीय कृति भएको बताए । लेखक पुगेका धेरै ठाउँमा आफू पनि पुगेको बताउँदै भट्टराईले ग्रीसको गर्मी र सुकरातका पाइलाका डोबहरू शीर्षक नियात्रामा लेखक घिमिरेका छोराछोरीले ग्रीसका ढुंगा बोकेजस्तै आफूले पनि ग्रीसबाट ल्याएको ढुंगा देखाउँदै वातावरणलाई हाँसोमय बनाएका थिए ।

विशिष्ट अतिथि पुष्कर शाहले ननफिक्सनभन्दा फिक्सनलेख्नेहरू विशेष भएपनि ननफिक्सनको पनि आफ्नै महत्व रहेको बताए । शाहले भने, ‘अक्षर मार्फत् संसार घुमाउन सक्नु ठूलो कुरा हो ।’

लेखक घिमिरेले विशिष्ट महानुभावहरूमाझ आफ्नो कृति विमोचन गर्न पाउनु सौभाग्यको विषय भएको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

करिब चार दर्जन साहित्यप्रेमीहरूको उपस्थितिमा राजधानीको एक होटलमा सम्पन्न सो समारोहको संचालन सीता रिजालले गरेकी थिइन् ।