काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै गर्दा एमालेको माधवकुमार नेपाल समूहले केहि एजेण्डा अगाडि सार्दै सामूहिक राजीनामाको चेतावनी दिएको थियो । माधव समूहले सामूहिक राजीनामा त दिएन तर, ओलीलाई विश्वासको मत लिनबाट भने रोक्यो । माधव समूहकै असहयोगका कारण अहिले ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
तर, विश्वासको मत प्राप्त नगरे पनि ओली भने पुनः प्रधानमन्त्री बन्ने लाईनमा देखिएका छन् । संसद अंकगणितमा देखिएको जटिलताका कारण उनको सम्भावना बढेको हो । यदि राष्ट्रपतिले तोकेको समयसीमाभित्र गठबन्धनले बहुमत देखाउन नसके ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्री बन्ने छन् ।
संविधानको धारा ७६ (२) अन्तर्गतको सरकार नबने राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको लागि आव्हान गर्नेछिन् । धारा ७६ (३) मा संसदको सबैभन्दा ठूलो दलको नेतालाई नै प्रधानमन्त्रीमा नियुक्ती दिने प्रावधान छ ।
जसपा र माधव पक्ष निर्णायक
गठबन्धनको सरकार बन्ने नबन्ने भन्ने विषयमा एमालेको माधव कुमार नेपाल समूह र जसपा निर्णायक देखिएको छ । अहिले जसपा विभाजित छ । जसपाको महन्थ ठाकूर समूह ओलीलाई नै निरन्तरता दिने लाईनमा देखिएको छ । सँगै माधव कुमार नेपाल पक्षको अन्यौंलताले पनि ओलीकै निरन्तरताको खोजी गरेको देखिन्छ ।
सामूहिक राजीनामाको धम्की दिईरहेको माधव कुमार नेपाल पक्षले कुनै निर्णय नलिए वा जसपा एक ढिक्का नबने गठबन्धनबाट सरकार बन्ने सम्भावना रहन्न । १७१ सदस्यीय प्रतिनिधिसभामा एमालेसँग एकलै १२१ मत छ । यदि २८ मत भएको (विश्वासको मत बेला देखिएको) माधव समूह र १५ मत भएको जसपाको महन्थ ठाकूर समूह अन्यौंलमा बसेमा वैकल्पिक सरकार बन्ने अवस्था रहन्न ।
यदि माधव समूहले सामूहिक राजीनामा दिएमा वा महन्थ ठाकूर समूहले वैकल्पिक सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका सहज रुपमा सरकार बन्ने निश्चित छ । तर हालसम्म पनि दुवै समूहले कित्ता स्पष्ट पारेका छन् । यसअघि ओलीले संसदमा विश्वासको मत लिँदै गर्दा माधव समूहले बहिस्कार गरेको थियो भने ठाकूर समूहले तटस्थमा मतदान गरेको थियो ।