April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हरेक १० मिनेटमा एक जनाको मृत्यु

3.2K

कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ  । यो संख्या अहिलेसम्मकै बढी हो ।

देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०.३५ प्रतिशतलाई संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।

‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’

Advertisement

यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ छ ।

पछिल्ला २७ दिनमा सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २ सय ५४, प्रदेश २ र सुदूरपश्चिममा ८०–८०, गण्डकीमा ५४, प्रदेश १ मा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।