April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेफिन यूकेको विधान समिति बन्यो

4.3K

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको वर्तमान कार्यसमितिको अवधि समाप्त हुँदैगर्दा अधिवेशनपूर्व एक विधान सभा बस्ने भएको छ । जसअनुसार नेफिन यूकेले एक तीन–सदस्यीय विधान समितिको गठन गरेको छ ।

गत जुलाई १२ मा बसेको संघीय परिषदको निर्णय अनुरुप महासंघको कार्यसमितिले विधान समिति बनाएको हो । समितिमा महासंघका सल्लाहकारहरु डा. सुमाया राई, एकेन्द्र गुरुङ र उत्तर मान तिगेला रहेका छन् । विधान समितिको संयोजन गुरुङले गर्नेछन् भने सोलिसिटर उत्तर मान तिगेलाले सदस्य सचिवको भूमिका निभाउनेछन् ।

वर्तमान कार्यसमितिको अवधि आगामी मार्चमा पुरा हुँदै गरेको भएपनि कोभिड–१९ को महामारी र अपनाउनु पर्ने सामाजिक दुरीका कारण छ महिना पर सर्ने सम्भावना रहेको छ ।

Advertisement

“चौथो अधिवेशनको नजिकिंदै गर्दा विधानको कतिपय धाराहरुमा पुनर्विचार गर्नु पर्ने अवस्था विद्यमान छ । त्यस्तै कतिपय सम्वन्धित व्यक्ति र संस्थाहरुले र महासंघको वर्तमान अध्यक्षात्मक प्रणालीलाई महासचिवीय प्रणालीमा लैजानु पर्ने, वा चक्रीय प्रणाली अनुरुप अध्यक्ष बन्ने प्रणालीमा पनि पुनर्विचार हुनपर्ने धारणा पनि आइरहेको छ । अतः यी यावत विषयमा विधान परिमार्जन अआवश्यक छ कि छैन भन्ने सन्दर्भमा विधान सभा जरुरी भएको हामीले ठहर गरेका हौं” – महासंघको विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ का कारण कतिपयले २०२२ सम्म अधिवेशन पर सार्ने सल्लाह दिइरहँदा वैधानिक कठिनाईका कारण अधिवेशनलाई अगस्ट महिनाभन्दा पर नलैजाने कार्यसमितिको योजना छ ।