लन्डन । लन्डनका मेयर सादिक खान दोस्रो पटक निर्वाचित भएका छन् । गत मे ६ मा भएको निर्वाचनमा खानले दोस्रो राउण्डको मत गणनामा जम्मा १२ लाख ६ हजार ३४ मत अर्थात ५५ दशमलव २ प्रतिशत मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका उम्मेद्वार साउन बेलीले ९ लाख ७७ हजार ६ सय १ मत प्राप्त गरे ।
यसअघि सन् २०१६ मा पहिलोपटक लन्डन मेयरमा निर्वाचित हुँदा खानले ५७ प्रतिशत मत पाएका थिए ।
पाकिस्तानबाट आएको आप्रवासी परिवारमा जन्मिएका खान मुस्लिम समुदायबाट लन्डनको मेयर निर्वाचित हुने पहिलो हुन् ।
पेशाले सोलिसिटर खान लेबर पार्टीको राजनीतिमा लागेपछि सन् १९९४ मा काउन्सिलर निर्वाचित भएका थिए । त्यसयता सन् २००६ सम्म उनी लन्डन वान्ड्सवर्थमा काउन्सिलर थिए । सन् २००५ मा टुटिङ क्षेत्रबाट पहिलोपटक सांसद निर्वाचित उनी २०१६ मा पहिलो कार्यकाल मेयर निर्वाचित भएका हुन् ।
लन्डन मेयरको रुपमा खानको पहिलो कार्यकाललाई औसत रुपमा लिइन्छ । लन्डनमा कन्जेसन चार्ज बढाउने, युलेज चार्ज शुरु गर्ने, साइकल लेन बिस्तार गर्ने जस्ता कार्य उनले गरेका थिए । समग्रमा लन्डनको यातायात र ट्राफिक व्यवस्थापनमा केही सुधार ल्याएपनि अपराध नियन्त्रणमा भने उनी असफल रहेको भन्दै आलोचना हुने गरेको छ ।