विराटनगर । डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा विराटनगरमा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको छ ।
प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरु पनि यहीँ भएका कारण विरामीको चाप सधैं उच्च हुने गरेको छ । तर, कोरोना उपचारका लागि सबैभन्दा अत्यावश्यक मानिने अक्सिजनको सिलिण्डरको चाहिँ यहाँ ठूलो अभाव छ ।
यसबारे सरकार पनि जानकार छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् । तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ । ‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ’, उनले भने ‘तर, सिलिण्डर अभावका कारण धेरै चाहिँदा चाहिँ समस्या हुनसक्ने स्थिति छ । यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं ।’
सरकारले भनेको ‘गम्भीर तयारी’ उद्योगी गुहारेर गरेको छ । तीन दिनअघि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विराटनगरका अक्सिजन उत्पादन गर्ने उद्योगीहरुलाई मन्त्रालयमै बोलाएर सक्दो सहयोग गर्न आग्रह गर्यो । त्यसक्रममा उद्योगीहरुले चाहिने जति अक्सिजन दिन आफूहरु तयार रहेको तर खाली सिलिण्डरको अभाव उच्च रहेको बताएका थिए । खाली सिलिण्डर खोज्न सघाउन पनि उद्योगीहरुले सरकारसँग माग गरेका छन् ।
अक्सिजन उत्पादन गर्ने उद्योगीहरुका अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि सबैतिर पुगेका सिलिण्डरहरु ‘होल्ड’ भएर बसेका छन् । जसले गर्दा सिलिण्डरको रोटेसन ठप्प जस्तै छ । ‘अस्पताल, क्लिनिकहरु र घरमा पुगेका अक्सिजन सिलिण्डर आवश्यक नपर्नेहरुले पनि ओगटेर राखिदिएका छन्’ विराटनगरस्थित विनायक अक्सिजन इण्डष्ट्रीका प्रमुख अमित सारडाले भने ‘यसले रोटेसन हुनै सकेको छैन । क्षमता भएर पनि अक्सिजन भर्न पाइएको छैन ।’
उद्योगी सारडाका अनुसार अहिले दैनिक ४ सयदेखि ५ सय वटासम्म सिलिण्डर ‘फिल’ गरिरहेको उद्योगसँग यसको तेब्बर क्षमतामा अक्सिजन भर्ने क्षमता छ । तर, क्षमता अनुसार सिलिण्डर छैन । ‘त्यसैले चाहेर पनि भर्न पाइएको छैन’, उनले भने ‘त्यसैले हामी खाली सिलिण्डर हुनेहरुलाई भर्नका लागि बोलाइरहेका छौं ।’ उनका अनुसार मोरङ र सुनसरी क्षेत्रमा पाँच वटा ठूला अक्सिजन प्लान्ट भएका उद्योग छन्, जसले चाहिने जति अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् । तर, सिलिण्डर नहुँदा समस्या भएको उनको भनाइ छ ।
अघिल्लो वर्ष कोरोनाविरुद्धको तयारी थाल्दा प्रदेश सरकारले विराटनगरका कहलिएका ठूला निजी अस्पतालहरुलाई कोरोनाको उपचार गराउन मनाएको थियो । प्रदेश सरकारले सोही अनुसार व्यापक प्रचार पनि गर्यो । तर, जब साँच्चै संक्रमित फेला पर्न थाले, निजी अस्पतालहरुले विरामीको भर्ना लिन पनि मानेनन् । उदयपुरमा पहिलोपटक संक्रमित भेटिँदा विराटनगरका अस्पतालले त्यो जिल्लाकै अन्य विरामीकोसमेत भर्ना लिएनन् ।
‘हामीलाई त्यो बेला सामुदायिक स्वास्थ्यको महत्वबोध उच्च रुपमा भएको थियो’, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन् ‘त्यही बुझेर रातारात गरेर बनाएको कोरोना अस्पताल, सरकारी अस्पतालमा खडा गरेको अलग्गै उपचार केन्द्र सबैभन्दा फलदायी सावित भयो ।’
कोरोनाको पहिलो लहर सुरु हुने बेलामा प्रदेश १ सरकारले देखाएको तदारुकताले सरकारी अस्पतालहरुमा कोभिड उपचारको प्रबन्ध राम्रो भएको थियो । लक्षण बेगरका संक्रमितहरुलाई पनि अस्पतालहरुमा राखेर निगरानी गरिएको प्रदेशमा स्थिति यस्तोसम्म आयो, कि गम्भीर अवस्थाका विरामीले अस्पतालमा बेड नै पाएनन् । उपचार अभावमा ज्यान गुमाउनेको संख्या धेरै भयो ।
‘अहिले त्यस्तो हुन नदिन हामी दिनरात काम गरिरहेका छौं’, सामाजिक विकास मन्त्रालय अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख डा. संगिता राईले भनिन् ‘अस्पतालमा बेड र जनशक्ति अभाव हुन नदिने गरी तयारी भइरहेको छ ।’
मन्त्रालयका अनुसार धरानको वीपी प्रतिष्ठानमा कोभिड उपचार केन्द्रकै लागि ७२ वटा आइसीयु र १९ वटा भेन्टिलेटरसहितको एक सय बेड सञ्चालनमा छन् । कोशी अस्पतालमा आइसीयु ६ वटा ५ वटा भेन्टिलेटर , मेची अस्पतालमा ६ वटा आइसीयु सञ्चालनमा छन् ।
