November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कामदार किन कोरिया जान पाएनन्?: गगन थापा

5.6K

काठमाडाैं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार किन रोकिएको भन्दै प्रश्न गरेका छन्। कोरियालगायत वैदेशिक रोजगारीबाट फर्केर आएका तर, जान नपाएकाहरूका बारेमा ‘चमत्कारी सरकार’ले के गरिरहेको छ भनि उनले प्रश्न उठाएका हुन्।

‘विदेशबाट फर्केर आएकाहरूले जान पाएका छैनन्। यो चमत्कारी सरकारले उनीहरूको बारेमा न केही सोच्दै छ न केही भन्छ’ सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद  थापाले भने  ‘दक्षिण कोरियाको भाषा र सीप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार २ हजार महिनौंदेखि काठमाडौंमा बसेका छन्। उनीहरूको बारेमा सरकारले वेवास्ता गरेको छ।’

फिलिपिन्स, श्रीलंका र म्यानमारले जस्तो पहल गरेको भए उनीहरू कोरिया जान पाउने थापाको तर्क थियो।  ‘घर विदामा आएका यी कामदारले रोजगारी पाउने कुरामा मन्त्रालयले ठोस कदम चालेर संसद्लाई जानकारी गराउन माग गर्दछु ’ थापाले भने ।

Advertisement

थापाले पर्यटन क्षेत्रमा लाखौंले रोजगारी गुमाएको पनि बताए। सरकारी तथ्यांकले वैदेशिक रोजगारीमा पनि लाखौंले रोजगार गुमाएको भनेको तर, सरकारबाट उनीहरूका लागि केही पहल नभएको सांसद थापाको आरोप छ।